२०८२ मङ्सिर २७ गते शनिवार

विकासमा वडा सरकार नागरिकसंगै


दाङ । वडा सरकार नागरिकको सबैभन्दा नजिकको सरकार हो । अर्थात नागरिकले वडा सरकारका प्रतिनिधिसंग सजिलैसंगै समस्या, गुनासा राख्न सक्छन् । जसका कारण नागरिकले माग गरेका विकासका चाङ वडा सरकारसंग धेरै हुने गरेका छन् ।

तर नागरिकका सबै माग वडा आफैले सम्बोधन गर्न सक्ने अवस्था हुँदैन । सिमित स्रोत साधनका बिचमा पनि वडा सरकारले नागरिकका समस्यालाई सम्बोधन गर्ने प्रयास गरिरहेका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिकामा रहेका १९ वडा सरकारमध्ये तुलसीपुर–१० ले पनि नागरिकका जतिसक्दो धेरै मागलाई सम्बोधन गर्ने प्रयास गरेको छ । वडाले गत आर्थिक वर्षमा मात्रै बन्गैँमा बिशाल शाहको घर हुँदै सलौरा, तुलसीपुर–१० र दंगीशरण–५ लाई जोड्ने गरी सडकको नयाँ ट्रयाक खोलेको छ ।

वडाले करिब ३ किलोमिटर नयाँ ट्रयाक खोलेको वडा अध्यक्ष यमराज केसीले जानकारी दिनुभयो । ‘हामी सडक कालोपत्रे गर्नेदेखि नयाँ ट्रयाक खोल्ने कामलाई तिब्रता दिएका छौँ ।’ उहाँले भन्नुभयो–‘सिमित स्रोत साधनका बिचमा पनि नागरिकका असिमित मागलाई सम्बोधन गर्ने प्रयास गरिरहेका छौँ ।’ उहाँले वडामा सिमित बजेट हुने भएकाले पालिका, प्रदेश र संघ सरकारबाट पनि वडाको विकासका लागि पहल गरिरहेको बताउनुभयो ।

वडाले राइखलियान चौधरी गाउँमा पक्कि नाला निर्माण गरेको छ । यसैगरी पड्ढा र ठुटी दुई गाउँ जोड्ने ३२ पुल पनि वडाले निर्माण गरेको अध्यक्ष केसीले बताउनुभयो । यस्तै सिंचाई सुविधाको लागि बन्गैँमा ३२५ मिटर नहर निर्माण गरिएको छ ।

यसैगरी वडालाई थप सुन्दर र आर्कषक बनाउन लक्ष्मी टोल विकास संस्थाको सडकको दायाँबाँया बिरुवा लगाएको वडाले जनाएको छ । वडा सचिव चन्द्र कुमार डाँगीका अनुसार गत आर्थिक वर्ष १ करोड ५२ लाख बजेटमा ८५ प्रतिशत बजेट खर्च भएको छ ।

जसमा चालतर्फ ९५ दशमलव ४३ प्रतिशत अर्थात ५६ लाख ३० हजार ८६९ खर्च भएको छ । गतवर्ष वडामा ५९ लाख चालु खर्च बिनियोजन भएको थियो । यस्तै पुजिँगत अर्थात विकासतर्फ ७८ दशमलव ७३ प्रतिशत खर्च भएको छ । वडामा ९३ लाख १० हजार ६०० विकास बजेटमध्ये ७३ लाख ३१ हजार २ भुक्तानी भएको छ ।

यस्तै वडामा बितेको आर्थिक वर्ष २०८१/२०८२ मा पक्की नाला ७२७ मिटर, सिंचाईको पक्की कुलो नहर ४५४ मिटर, सडक ग्राबेल ३ हजार ५ सय मिटर, कल्भर्ट ४ वटा, सामुदायिक भवन १ वटा निर्माण गरिएको वडा सचिव डाँगीले बताउनुभयो । उहाँका अनुसार एक वटा मन्दिर रंगरोगन गरी मर्मत गरिएको छ भने अर्कोको निर्माण कार्य जारी छ ।

यस्तै पड्ढा र ठुटी दुई गाउँ जोड्ने ३२ मिटर पुल पनि निर्माण गरिएको छ । यसैगरी नयाँ सडक ७०० मिटर, सडक स्तरोन्नती २ हजार मिटर गरिएको छ । वडाले बितेको आर्थिक वर्षमा ३१ लाख ९८ हजार ३९ रुपैँया राजश्व स.कलन गरेको छ भने ५८८ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ ।

व्यक्तिगत घटना दर्ता तीन सय नजिक
वडाले गत आर्थिक वर्षमा २७१ व्यक्तिगत घटना दर्ता गरेको छ । वडा सचिव डाँगीका अनुसार जन्मदर्ता ९७, मृत्युदर्ता ४३, बिवाहदर्ता ५३, सम्बन्ध बिच्छेद ४ वटा दर्ता भएका छन् । यस्तै वडा नम्बर १० मा गत आर्थिक वर्षमा ५७ घर परिवार बसाइ सरी आएका छन् भने १७ घर परिवार अन्यत्र बसाई सरेका छन् । वडाले गत वर्ष आर्थिक वर्षमा २५०३ जनालाई सिफारिस पत्र दिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस