दाङ । दाङमा टिप्पर र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा परी प्युठानको ऐरावती गाउँपालिका– ५ का १९ वर्षका मोटरसाइकलमा सवार सुशील थापाको मृत्यु भएको छ ।

थापाको भालुवाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका कार्यालय प्रमुख प्रहरी निरिक्षक डवल बहादुर बमले जानकारी दिनुभयो ।
प्रहरी निरिक्षक बमका अनुसार मोटरसाइकल चालक सोही ठाउँका २२ वर्षका प्रचण्ड थापा घाइते भएका छन् । प्रचण्डको भालुवाङ अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल पठाइएको प्रहरी निरिक्षक बमले बताउनुभयो ।

मृतक थापाको शवलाई पोष्टमार्टमका लागि लमही अस्पताल पठाइएको छ भने टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चन्द्रौटा देखि पश्चिम जाँदै गरेको ना ८ ख ८२५९ नम्बरको टिप्पर र प्युठानबाट चन्द्रौटा जाँदै गरेको लु ३९ प ८३९० नम्बरको मोटरसाइकल आज आइतबार बिहान ६ बजे तिर गढवा गाउँपालिका–१ धोद्रे पुल नजिक दुर्घटना भएको प्रहरी निरिक्षक बमले जानकारी दिनुभयो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















