दाङ । जेन–जीका नाममा आज सोमबारदेखि सुरू भएको प्रदर्शन हिंसात्मक बन्दा १४ जनाको मृत्यु भएको छ ।
प्रदर्शनकारीका नाममा उत्रिएको समूहले नयाँबानेश्वरस्थित संसद् भवन कब्जा गर्न खोजेपछि प्रतिकारमा उत्रिएका सुरक्षाकर्मीले गोली चलाउँदा अहिलेसम्म मृत्यु हुनेकोे संख्या १४ पुगेको हो ।
सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, उपत्यकाका विभिन्न अस्पतालमा १४ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १, त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।
उनीहरू सबै रबरको गोली लागेर गम्भीर घाइते भएका थिए । थप उपचारका लागि अस्पताल पुर्याइएकोमा अस्पतालले मृत्यु घोषणा गरेको हो ।
जेनजीहरूको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि थप हिंसात्मक बन्दै गएको हो । दिउँसो साढे १२ बजेबाट काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी भएको थियो ।
यसैबिच प्रदर्शनका क्रममा घाइते भएकाहरूको यकिन विवरण भने आइसकेको छैन । मन्त्रालयले अहिले विभिन्न अस्पतालमा विवरण संकलन गर्ने कार्य गरिरहेको छ ।
दिउँसो ४ बजेसम्म मन्त्रालयले लिएको विवरण अनुसा सबैभन्दा बढी घाइते सिभिल अस्पतालमा छन् ।
त्यस्तै, ट्रमा सेन्टरमा २४, केएमसी अस्पतालमा २०, त्रिवि शिक्षण अस्पतालमा १५ र एभरेष्ट अस्पतालमा ३४ जना घाइते छन् ।
केही घाइतेहरूलाई पाटन अस्पताल पनि पुर्याइएको छ । पाटन अस्पतालमा भएका घाइतेहरूको विवरण मन्त्रालयले संकलन गर्दैछ ।















