२०८२ मङ्सिर २२ गते सोमवार

जेनजी प्रदर्शनमा १९ जनाको मृत्यु, झन्डै साढे ३ सय जना घाइते


दाङ । ’जेन जी’ भनिने नवयुवा पुस्ताको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म १९ जना पुगेको छ ।

काठमाण्डौको बानेश्वर क्षेत्रमा र सुनसरीमा समेत गरी उनीहरूको मृत्यु भएको हो । प्रहरीले आधिकारिक रूपमा पुष्टि गरिसकेको छैन । अस्पतालहरूको विवरण अनुसार मृत्यु हुनेको संख्या १९ जना पुगेको हो ।

अस्पतालहरूको विवरण अनुसार काठमाण्डौको राष्ट्रिय ट्रमा सेन्टरमा मात्रै ८ जनाको मृत्यु भएको छ । यस्तै एभरेस्ट अस्पताल बानेश्वरमा ३, सिभिल अस्पतालमा ३, त्रिवि शिक्षणमा १ र केएमसीमा २ जनाको मृत्यु भएका हो । यस्तै इटहरीको सुनसरीमा प्रहरीको गोली लागेर २ जनाको मृत्यु भएको हो ।

अस्पतालहरूको विवरण अनुसार विभिन्न अस्पतालमा गरी ३ सय ४७ जना घाइतेको उपचार भइरहेको छ । अस्पतालहरूका अनुसार मृत्यु हुने र गम्भीर अवस्थाका धेरै घाइतेको टाउको र छातीमा गोली लागेको छ ।

’जेन जी’ हरू सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा प्रदर्शनमा उत्रिएका हुन् । सन् १९९७ देखि सन् २०१२ सम्म जन्मिएकाहरूलाई ’जेन जी’ पुस्ता भनिन्छ ।

’जेन जी’ यिनीहरू इन्टरनेटको विकाससँगै हुर्किएका हुन् । विश्वव्यापीकरणको प्रभावले यो पुस्ता धेरै परिवर्तनबारेमा जानकार रहे पनि नेपालमा परम्परागत शासकका कारण रुष्ट छन् । यिनीहरूले सामाजिक सञ्जालको भित्तामा आन्दोलन गर्दै आएकामा सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि सडकमा आएका हुन् । तर सरकारले सडकमा आएको पहिलो दिन नै ’जेन जी’ माथि बर्बरतापूर्वक गोली चलाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस