दाङ । रुकुम पश्चिम जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । मुसिकोटबाट आठबिसकोट नगरपालिका–३ स्यालाखदीतर्फ जाँदै गरेको जिप हिजो शुक्रबार साँझ दुर्घटना भएको हो ।
रा १ ज ४२२ नम्बरको जिप बाँफिकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाको सिमानास्थित झारमारेमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । तीमध्ये ६ जनाको पहिचान खुलेको रुकुमपश्चिम प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा रूकुम पश्चिम आठबिसकोट नगरपालिका–२ स्यालाका ३० वर्षीय कमला ओली, सोही पालिकाका १६ वर्षीय टेकजंग बुढा, १५ वर्षीय दिलमाया बुढा, १७ वर्षीय मनिका ओली, १८ वर्षीय शर्मिला विक, २२ वर्षीय गोपाल ओली रहेका छन् ।
यस्तै, अन्य १० जना घाइतेहरुको उद्धार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार जिप सडकबाट ७ सय मिटर तल खसेको छ । प्रहरीका अनुसार उनीहरू मण्डली (चर्च)बाट घर फर्किँदै थिए । त्रिवेणी गाउँपालिका सिमरुतस्थित चर्चबाट फर्किँदा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
आठबिसकोट नगरपालिका २ का वडाध्यक्ष देवबहादुर ऐरीका अनुसार मृतक सबै चर्चबाट घर फर्किँदै थिए । जिपमा २५ जना सवार रहेका थिए । १९ जना भित्र र ६ जना छतमा बसेर घर फर्किँदैगर्दा दुर्घटना भएको भएको हो ।
कच्ची सडकमा उकालोखण्ड पार गर्दैगर्दा जिपको पट्टा भाँचिएर दुर्घटना भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक हरि पुनले घटनाबारे थप अनुसन्धान भइरहेका जानकारी दिनुभएको छ ।















