२०८३ बैशाख १८ गते शुक्रवार

तुलसीपुरमा दुई वटा मोटरसाइकल ठोकिँदा दुई जना घाइते


तुलसीपुर । तुलसीपुरमा दुई वटा मोटरसाइकल एक–आपसमा ठोकिँदा दुई जना घाइते भएका छन् । आज बिहान साढे १० बजेतिर तुलसीपुर उपमहानगरपालिका–६ हात्तीखौवामा मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको हो ।

घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको भे १ ब १८४६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको रा ६ प ५२३७ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक बिनोदराज खत्रीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी भे १ ब १८४६ नम्बरको मोटरसाइकल चालक प्युठान जिल्ला अदालतका कर्मचारी घोराही उपमहानगरपालिका–१० का २८ वर्षका दामोदर न्यौपाने र रा ६ प ५२३७ नम्बरको मोटरसाइकल चालक रोल्पाको गंगादेव गाउँपालिका– १ घर्तीगाँउ बस्ने १७ वर्षका संदिप घर्तिमगर घाइते भएको प्रहरी निरिक्षक खत्रीले जानकारी दिनुभयो ।

न्यौपानेको बायाँ हातमा र घर्तिमगरको टाउको बायाँ खुट्टा र बायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ । दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको खत्रीले जानकारी दिनुभयो ।

रा ६ प ५२३७ नम्बरका मोटरसाइकल चालक घर्तीमगरको साथमा कागजात नभएको उहाँले जानकारी दिनुभयो । दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस