दाङ । दाङमा मोटरसाइकल र ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।
मोटरसाइकलमा पछाडी सवार सल्यान कालिमाटी गाउँपालिका– ३ का अन्दाजी २३ वर्षका भिषन पुनमगरको मृत्यु भएकोे इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । पुनमगरको टाउको र शरिरको विभिन्न भागमा चोट लागेको थियो । उहाँको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा हिजो राति साढे ८ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक बिनोदराज खत्रीले जानकारी दिनुभयो ।
मोटरसाइकल चालक बबई गाउँपालिका–३ का अन्दाजी २९ वर्षका गणेश वली घाइते भएको प्रहरी निरिक्षक खत्रीले बताउनुभयो । वलीको बायाँ खुट्टा फ्याक्चर, बायाँ हातमा चोट लागेको छ । प्रहरीका अनुसार वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चात नेपालगंज रिफर गरी हाल भारतको लखनउ स्थित आशिर्बाद सिटि हस्पिटलमा उपचार भैरहेको छ । उहाँको अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
तुलसीपुरबाट हंसपुरतर्फ जाँदै गरेको रा.७ प.५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको ना.६ ख.२६३५ नम्बरको ट्रक हिजो शनिबार साँझ करिब ८ बजेतिर दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किएको थियो ।
दुर्घटनामा संलग्न मोटरसाइकल, ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।















