२०८२ फाल्गुन २६ गते मङ्गलवार

सम्झौता अवधि सकिँदा पनि सटर खाली नभएपछि अस्पतालद्वारा पुनः सूचना जारी


दाङ । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले अस्पताल परिसरभित्र रहेका सटरहरू खाली गर्न पटक पटक सूचना गर्दा पनि अझै खाली हुन सकेको छैन ।

पटक पटक सूचना जारी गर्दा पनि सटर खाली नभएपछि अस्पतालले अस्पताल परिसरभित्र रहेका सटरहरू खाली गर्न आज आइतबार दोस्रो पटक सूचना प्रकाशित गरेको छ ।

अस्पतालको स्वामित्वमा रहेका सटर नम्बर १ देखि १६ सम्म विभिन्न व्यापार व्यवसाय सञ्चालनका लागि भाडामा दिइएका सम्झौता अवधि सकिएको भए पनि हालसम्म सटर खाली नगरिएकाले अस्पताल प्रशासनले पुनः सूचना जारी गरेको हो । सटर नम्बर १ देखि १६ सम्म विभिन्न व्यापार व्यवसाय सञ्चालनका लागि भाडामा दिइएका सम्झौता अवधि असार मै सकिएको अस्पतालले जनाएको छ ।

अस्पताल विकास समितिको २०८२ जेठ २९ गतेको निर्णयअनुसार ती सटरहरू पुनः सिलबन्दी दरभाउपत्र (टेन्डर) प्रक्रियामार्फत भाडामा दिने तयारी गरेकोे छ । सोही प्रयोजनका लागि अस्पतालले यसअघि २०८२ असार २३ गते पहिलो पटक सूचना प्रकाशित गरी २०८२ साउन ७ गतेभित्र सटर खाली गर्न अनुरोध गरेको थियो ।

तर पहिलो पटक प्रकाशित भएको सूचनालाई बेवास्ता गरी हालसम्म पनि सटरहरू खाली नगरिएको पाइएकाले अस्पताल प्रशासनले दोस्रो पटक १५ दिने सूचना प्रकाशित गरेको जनाएको छ ।

सूचनामा अस्पतालसँग सम्झौता गरी व्यापार व्यवसाय सञ्चालन गरिरहेका व्यक्ति तथा फर्महरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र अनिवार्य रूपमा सटर खाली गरी अस्पताललाई बुझाउनुपर्नेछ ।

तोकिएको समयभित्र सटर खाली नगरेमा प्रचलित कानुन बमोजिम आवश्यक प्रक्रिया अगाडि बढाइने तथा त्यसबाट पर्न सक्ने सम्पूर्ण जिम्मेवारी सम्बन्धित पक्षकै हुने अस्पताल प्रशासनले स्पष्ट पारेको छ ।

अस्पताल प्रशासनले सबै सरोकारवाला व्यक्ति तथा संस्थालाई सूचनाको पालना गर्न अनुरोध गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस