दाङ । दाङको तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री महिला गम्भिर घाइते भएकी छन् । प्रहरीका अनुसार आज शुक्रबार दिउँसो करिब पौने २ बजेतिर तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा ३ प ६४३१ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई तुलसीपुर–७ कालाखोलामा ठक्कर दिएको हो ।
दुर्घटनामा तुलसीपुर उपमहानगरपालिका–१७ का ३३ वर्षका रमा चौधरी गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक विनोदराज खत्रीले जानकारी दिनुभयो ।
घाइते चौधरीको टाउको, मुख, हात र खुट्टामा चोट लागेको छ । घाइते चौधरीलाई राप्ती लाइफ केयर अस्पताल मोतिपुरमा सामान्य उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही रिफर गरिएको छ ।
मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–४ बनहरीका २३ वर्षका अरुण चौधरी र पछाडि सवार तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कका २० वर्षका आभास केसी पनि घाइते भएका छन् ।
चालक चौधरीको अवस्था सामान्य रहेको भने पछाडि सवार केसीको दाहिने हातमा चोट लागेको छ । दुर्घटनामा संलग्न मोटरसाइकललाई अस्थायी प्रहरी पोष्ट पर्सेनीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














