२०८२ फाल्गुन २९ गते शुक्रवार

बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेर १३ जनाको मृत्यु

बैतडी । बैतडीमा जन्ती बोकेको बस दुर्घटनामा परेर १३ जनाको मृत्यु भएको छ । मृत्यु हुने १३ जनाकै सनाखत भएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीले दिएको जानकारी अनुुसार डडेलधुरा अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेमा बझाङ बित्थडचिर गाउँपालिका–७ का १७ वर्षीय बिसनदत्त जोशी, सोही स्थानका अन्दाजी २७ वर्षका दीपक जोशी र अन्दाजी ४५ वर्षका किसनदत्त जोशी रहेका छन् ।

यसैगरी, बझाङको केदारस्यु गाउँपालिका ७ बस्ने अन्दाजी २६ वर्षीय केशवराज भट्ट र बैतडी पुर्चौडी नगरपालिका ७ का अन्दाजी १४ वर्षीय सुशील जोशीको पनि मृत्यु भएको हो ।

यसैगरी मृतकको सूचीमा बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी र ४२ वर्षीय नरेशराज जोशीको नाम छ ।

अन्य मृतकमा बझाङकै केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्तराज रतला छन् । पुर्चौडी नगरपालिका –७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा बस दुर्घटनामा परेको हो ।

सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेर १३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी दिपक कुमार रायले जानकारी दिनुभयो ।

६ जनाको घटनास्थलमै र अन्य ७ जनाको उपचारका क्रममा मृत्यु भएको हो । बसमा ४५ जना सवार रहेका थिए । दुर्घटनामा कारण अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । बस सडकबाट करिब १ सय मिटर तल खसेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस