दाङ । वायु प्रदूषणका कारण नेपालमा बर्सेनि करिब ४२ हजार मानिसको मृत्यु हुने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले तीमध्ये २१ प्रतिशत मृत्यु पाँच वर्षमुनिका बालबालिका रहेको बताउनुभयो ।
वायु प्रदूषणका कारण श्वासप्रश्वाससम्बन्धी दम, मुटुरोग तथा हृदयघात, मस्तिष्कघात, उच्च रक्तचाप, मधुमेह, क्यान्सर र स्मरणशक्ति कमजोर हुने समस्या देखिने गरेको उहाँले बताउनुभयो ।
प्रदूषणका कारण बालबालिकालाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिनु, मुटुसम्बन्धी रोग हुने सम्भावना बढ्नु, शिशु बिरामीदर बढ्नु, बाल्यकालमा क्यान्सरको जोखिम हुनु, मस्तिष्क विकासमा ढिलाइ र असामान्य व्यवहार देखिनु, कुपोषणको देखिनु जस्ता समस्या पनि देखिने गरेका विज्ञहरूले बताउने गरेका छन् । यस्तै, कम तौलको बच्चा जन्मिनु, रक्तअल्पता हुनु, बाँझोपन हुनु, गर्भकालीन मधुमेह हुनु, मानसिक स्वास्थ्य समस्या देखिनु जस्ता समस्या आउने गरेका छन् ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को मापदण्डभन्दा नेपालमा वायु प्रदूषण आठ गुणा बढी देखिएको मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले जानकारी दिनुभयो । नेपालमा बिहीबार वायु गुणस्तर सूचक १८५ सम्म देखिएको उहाँले बताउनुभयो ।
नेपालमा डब्लुएचओको मापदण्डभन्दा बढी नै प्रदूषण भएको उहाँले बताउनुभयो । वायु गुणस्तर सूचक ० देखि ५० सम्म स्वस्थ, ५१ देखि १०० सचेत, १०१ देखि १५१ सम्म जोखिम समूह (ज्येष्ठ नागरिक, दीर्घरोग र बालबालिका) का लागि हानिकारक मानिन्छ । वायु गुणस्तर सूचक १५१ भन्दामाथि भएमा अस्वस्थ्य मानिने गरिएको छ । यसलाई डब्लुएचओको मापदण्डभित्र पुर्याउन सके हरेक वर्ष नेपालीको आयु तीन दशमलव तीन वर्षले बढ्ने अनुमान गरिएको छ ।














