२०८३ जेष्ठ २१ गते बिहिवार

दाङमा एक महिनामा नौंसय बढीले बनाए पासपोर्ट


दाङ । फागुन महिनामा दाङबाट मात्रै झण्डै एक हजार जनाले पासपोर्ट बनाएका छन् । जिल्ला प्रशासन कार्यालय दाङले एक महिनाको अवधिमा ९ सय ९० जनालाई पासपोर्ट प्रदान गरेको जनाएको हो ।

जसमध्ये घोराहीबाट ४२६, इलाका प्रशासन कार्यालय तुलसीपुरबाट २७० र इलाका प्रशासन कार्यालय लमहीबाट २९४ जनाले पासपोर्ट बनाएका हुन् ।

फागुनमा ई–पासपोर्टका लागि १ हजार ५३ जनाले आवेदन दिएको सहायक प्रमुख जिल्ला अधिकारी साबित्रा पुनले जानकारी दिनुभयो । आवेदन दिनेमा तुलसीपुरका धेरै रहेका छन् । तुलसीपुरबाट ४०२ र घोराहीबाट ३९२ र लमहीबाट २५९ जनाले ई–पासपोर्टका लागि आवेदन दिएका हुन् ।

यस अवधिमा ४ हजार ३९५ जनाले राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गरेका छन् । दर्ता गर्ने मध्ये घोराहीबाट १ हजार ९४७, तुलसीपुरबाट १ हजार ६६१ र लमहीबाट ७८७ जना रहेका छन् ।

कार्यालयले एक महिनाको अवधिमा ९ सय ४७ जनालाई नागरिकता वितरण गरेको जनाएको हो । जसमध्ये घोराहीबाट २९७, इलाका प्रशासन कार्यालय तुलसीपुरबाट ३७८ र इलाका प्रशासन कार्यालय लमहीबाट २७२ जनाले नागरिकता प्राप्त गरेका छन् ।

त्यसैगरी फागुन महिनामा कार्यालयले दुई जनालाई गैरआवासीय नागरिकता प्रदान गरेको छ भने एक जनाले नेपाली नागरिकता त्याग गरेका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस