दाङ। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ पर्नुभएको छ । अपराध अनुसन्धान कार्यालयको टोलीले रिजाललाई पक्राउ गरेको हो ।
उहाँ जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ हुनुहुन्थ्यो । रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप छ ।
उहाँ तत्कालीन गृहमन्त्री रमेश लेखक निकट हुनुहुन्थ्यो । जेनजी आन्दोलनमा दमन गरेपछि उहाँ काठमाडौंको प्रमुख जिल्ला अधिकारीबाट एक महिना नपुग्दै बहिर्गमन हुनुभएको हो ।
गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले रिजाललाई समेत कारबाही सिफारिस गरेको थियो । आयोगकै सिफारिसका आधारमा यसअघि तत्कालीन प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखक गत शनिबार नै पक्राउ परिसकेका छन् ।
रिजाल काठमाडौंका प्रमुख जिल्ला अधिकारी हुनुभन्दा अघि गृह मन्त्रालयको प्रशासन महाशाखाको प्रमुख हुनुहुन्थ्यो । तत्कालीन गृहमन्त्री रमेश लेखकको पालामा प्रशासन महाशाखा प्रमुख रहेका उहाँमाथि कर्मचारीहरूलाई अध्यागमन एवं आकर्षक कार्यालयहरूमा पठाउँदा ‘पेशागत आचरण विपरित काम गरेको’ आरोप समेत छ ।
अख्तियारले विशेष अदालतमा पठाएको विवरणमा गृहमन्त्रालयका तत्कालीन प्रशासन महाशाखा प्रमुख रिजालमाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान भइरहेको उल्लेख छ ।
गृहमन्त्री रमेश लेखकका निजी सचिव बद्री तिवारी, स्वकीय सचिव जनक भट्टसँगको सेटिङ, गृहसचिव गोकर्णमणि दुवाडी एवं अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत तिर्थराज भट्टराईसँगको अस्वभाविक गतिविधि र डायरीलगायतका विवरणमा नाम उल्लेख भएकाहरूमाथि अनुसन्धान भइरहेको जनाएको छ ।















