सल्यान । सल्यानको कपुरकोट गाउँपालिका–४ किमुचौर नजिक अटो दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आज बिहीबार बिहान करिब साढे ११ बजेतिर किमुचौरबाट मुलपानीतर्फ जाँदै गरेको (अस्थायी) म.प्र.०३००३ स ४०१५ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो ।
घाइते हुनेमा चालक कपुरकोट–४ किमुचौरका ३८ बर्षिय टिकाराम राना, ७२ वर्षीय डिलबहादुर सुनार, ३८ बर्षिय सागर एरी, ४४ वर्षीय टोपबहादुर ऐरी र भारत उत्तर प्रदेश घर भई भाँडा बेच्दै हिँड्ने करिब ५२ वर्षीय सफि अहमद रहेको जिल्ला प्रहरी कार्यालय सल्यानको सञ्चार शाखाले जनाएको छ ।
प्रहरीका अनुसार सुनार र अहमदको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था मध्यम छ । प्रहरी र स्थानीयको सहयोगमा घाइतेहरूको उद्धार गरी कपुरकोट आधारभूत अस्पताल लागिएको थियो ।
घाइतेमध्ये चार जनालाइ थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















