दाङ। दाङमा बोलेरो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । लमही नगरपालिका ७ बनघुस्रीस्थित पूर्व पश्चिम राजमार्गमा बिहिबार राति भएकोे सवारी दुर्घटनामा लमही नगरपालिका ६ बस्ने वर्ष ५५ का समुन्दर चौधरीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार नारायणघाटबाट सुर्खेततर्फ जाँदै गरेको ग ३ च ४७७० नम्बरको बोलेरो पिकअप र विपरीत दिशाबाट आउँदै गरेको रा १ प ९६७८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भएका थिए । गम्भिर घाइते चौधरीलाई तत्काल उपचारका लागि लमही अस्पताल पठाइएकोमा चिकित्सकले गएराती नै मृत घोषणा गरेका थिए । बोलेरो पिकअप जिल्ला स्याङ्जा गल्याङ नगरपालिका ११ जिमुवाका २१ वर्षीय दुलराज पल्ली मगरले चलाएका थिए । उहाँलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनापछि प्रहरी चौकी सतबरिया दाङबाट प्रहरी सहायक निरीक्षक रामसागर चौधरीको कमाण्डमा ३ जना र इलाका प्रहरी कार्यालय अमिलिया दाङबाट प्रहरी निरीक्षक रेशम बहादुर खत्रीको कमाण्डमा ५ जनाको टोली खटिएको थियो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।














