२०८३ बैशाख १४ गते सोमवार

सरयुगङ्गालाई धार्मिक केन्द्र बनाऔँ : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले दाङको शीतलपुर–बबई क्षेत्रस्थित सरयुगङ्गालाई प्रदेशकै महत्त्वपूर्ण सांस्कृतिक तथा धार्मिक गन्तव्यका रूपमा विकास गरिने बताउनु भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाले सोमबार तुलसीपुर उपमहानगरपालिका–१३, अम्बापुरमा रहेको मदन बाबा भक्ति केन्द्रमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले धार्मिक पर्यटन, सांस्कृतिक संरक्षण र स्थानीय आर्थिक समृद्धिका लागि सरयुगङ्गाको समुचित विकास आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री आचार्यले बई (सरयु गङ्गा) क्षेत्रमा माघी स्नानका अवसरमा कुम्भ मेलाको आयोजना गर्न प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारको सहकार्यमा र स्थानीय सरकारको व्यवस्थापनमा यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित धार्मिक–सांस्कृतिक केन्द्रका रूपमा विकास गरिने उल्लेख गर्नुभयो ।

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरयुगङ्गा केवल नदी मात्र नभई आदिम मानव सभ्यताको सुरुवातीचरण, आस्था, संस्कार र सभ्यताको प्रतीक भएकाले यसको संरक्षण, प्रवर्धनमा सबैले जोड दिनुपर्ने बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टीकाराम खड्काले तुही सभ्यताको खोज अनुसन्धानमा पालिकाबाट काम हुँदैआएको बताउनुभयो । उहाँले यस क्षेत्रको पर्यापर्यटन प्रवर्धनका लागि धार्मिक र सांस्कृतिक केन्द्रका रूपमा विकासका लागि स्थानीय सरकार तल्लीन रहेको स्पष्ट पार्नुभयो ।

तुलसीपुर–१३ऽ अम्बापुरका हरिहर पौडेलले मदनबाबा भक्ति केन्द्रलाई बहुआयामिक केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । केन्द्रद्वारा २७ फिट अग्लो भगवान शिवको मूर्ति निर्माण, महालक्ष्मी मन्दिर स्थापना, वीरभद्र भगवान्‌को मूर्ति निर्माण, ती स्थलसम्म पुग्न सिँढी निर्माण तथा आकर्षक पुष्पवाटिका स्थापना गर्ने योजना प्रस्तुत गरिएको छ । शिवरात्रीका अवसरमा एक सय आठ ज्योर्तिलिङ्ग स्थापना गर्ने लक्ष्य राखिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस