दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको करिब दुई बिघाभन्दा बढी जग्गा लामो समयदेखि अतिक्रमणमा परेको छ । घोराही उपमहानगरपालिका–१४ स्थित उक्त जग्गा खाली गराउन प्रतिष्ठानले पहल गर्दै आए पनि हालसम्म समस्या समाधान हुन सकेको छैन ।
जग्गा अतिक्रमणका कारण प्रतिष्ठानले फोहोर व्यवस्थापन, शैक्षिक कार्यक्रमका लागि आवश्यक पूर्वाधार विस्तार तथा पार्किङ स्थल निर्माणलगायतका काम गर्न नसकेको जनाएको छ । अतिक्रमित जग्गा खाली गराउन आवश्यक समन्वय र सहजीकरणका लागि २०८२ चैत १८ गते गृह मन्त्रालयअन्तर्गत आन्तरिक प्रशासन, सहरी तथा सभा–समारोह व्यवस्थापन शाखाले जिल्ला प्रशासन कार्यालय दाङलाई पत्राचारसमेत गरेको थियो ।
उक्त क्षेत्रमा बसोबास गर्दै आएका सुकुम्बासी तथा भूमिहीनहरूले भने पुनर्वासको व्यवस्था भए मात्र जग्गा खाली गर्ने अडान राखेका छन् । घोराही–१४ खोलीगाउँ निवासी भीमा कामीले आफ्नो जग्गा नभएकाले बाध्यतावश खोलाको किनारमा बस्नुपरेको बताउँदै स्थायी बसोबासको सुनिश्चितता भए अन्यत्र जान तयार रहेको बताउनुभयो ।
स्थानीय मानबहादुर बुढाले पनि २०४० सालदेखि उक्त क्षेत्रमा बस्दै आएको उल्लेख गर्दै अहिले हटाउन खोज्दा कहाँ जाने भन्ने चिन्ता थपिएको बताउनुभयो । स्थानीयवासीहरूको साझा माग भनेको पुनः विस्थापित नहुने गरी स्थायी व्यवस्थापन गरिनु पर्ने रहेको छ । अहिले जस्तो बारम्बार हटाइने अवस्था नहोस् भन्ने उनीहरूको चाहना छ ।
वडा सदस्य तथा ट्राफिकचोक खोलीगाउँ टोल विकास समितिकी अध्यक्ष रचना कुमालका अनुसार उक्त क्षेत्रमा हाल १५९ घरपरिवार बसोबास गर्दै आएका छन् । जसमध्ये पुलचोक खोलीगाउँमा ५४ र ट्राफिकचोक खोलीगाउँ टोलमा १०५ घरपरिवार रहेका छन् ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका निमित्त निर्देशक डा. जनार्दन पन्थीका अनुसार सेवा विस्तार र शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक भौतिक संरचना निर्माण गर्नुपर्ने भए पनि बस्तीका कारण समस्या भइरहेको छ ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले प्रतिष्ठान, स्थानीयवासी र घोराही उपमहानगरपालिकाबीच समन्वय गरी वास्तविक सुकुम्बासीको पहिचानसहित समस्या समाधान गरिने बताउनुभयो ।















