रोल्पा, २७ वैशाख । रोल्पामा भीरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । गंगादेव गाउँपालिका वडा नं. ३ लोरीबिनिका ७८ वर्षीय टंक बहादुर वलीको शनिबार बिहान भीरबाट लडेर मृत्यु भएको हो ।
आज बिहान करिब साढे नौ बजेको समयमा वली आफ्नो घरबाट करिब ५०० मिटर पूर्वतर्फको बाटोबाट २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
वली बाटोमुनि घोप्टो अवस्थामा फेला परेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी जिनावाङबाट प्रहरी सहायक निरीक्षक ललित बहादुर बुढाथोकीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । दिउँसो घटनास्थल पुगेको टोलीले प्रारम्भिक जाँच गर्दा वलीको घटनास्थलमै मृत्यु भइसकेको फेला पारेका रोल्पाका प्रहरी प्रमुख बिरेन्द्र बिर विश्वकर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार घटनास्थल इलाका प्रहरी कार्यालय जिनावाङबाट करिब २० किलोमिटर दक्षिणमा पर्दछ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















