दाङ । दाङ प्रहरीले दाङका दुई सामुदायिक वनबाट चार नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ ।
दुई सामुदायिक वन क्षेत्रमा खोजतलासका क्रममा चार नाल अवैध भरुवा बन्दुक तथा बन्दुक बनाउन प्रयोग गर्ने आवश्यक सामग्री बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक असिम हमालको कमाण्डमा खटिएको टोलीले तुलसीपुर उपमहानगरपालिका–१३ स्थित जुमिलकुला लेडुवा सामुदायिक वनमा गस्ती गर्ने क्रममा १ नाल अवैध भरुवा बन्दुक फेला पारी बरामद गरेको हो ।
त्यसैगरी प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षक टेकबहादुर कुसारीको कमाण्डमा खटिएको टोलीले घोराही उपमहानगरपालिका–२ बलारामपुर स्थित रहेको गौरी बबई सामुदायिक वन क्षेत्रमा गस्ती गर्ने क्रममा थप ३ नाल अवैध भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ ।
सोही स्थानबाट बन्दुकमा प्रयोग हुने विभिन्न सामग्रीसमेत फेला परेको छ । प्रहरीले ४२ वटा फलामका टुक्रा, २० वटा केप, १ वटा चक्कु र करिब २०० ग्राम बारुद बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक डा. हेमबहादुर केसीले जानकारी दिनुभयो ।
बरामद गरिएका अवैध हतियार तथा सामग्रीको स्रोत र प्रयोगबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।






















