२०८३ साउन ६ गते बुधवार

वन संरक्षणसँगै आयआर्जन बढाउने उद्देश्यले अमेलियामा मौवा रोपियो


दाङ । अमेलिया सामुदायिक वन क्षेत्रमा मौवाका बिरुवा रोपिएका छन् । ग्रीन फाउन्डेसन नेपाल, अमेलिया सामुदायिक वन उपभोक्ता समूह लमही र मौवा वाइनको संयुक्त आयोजना तथा सव–डिभिजन वन कार्यालय सतबरिया र स्थानीय सामुदायिक वन उपभोक्ता महासङ्घ लमहीको सहकार्यमा आइतबार मौवा प्रजातिका १ हजार ५०० बिरुवा वृक्षारोपण गरिएको हो ।

मौवा बहुउपयोगी र आर्थिक रूपमा महत्त्वपूर्ण प्रजाति भएकाले यसको फूल, फल र बीउबाट विभिन्न खाद्य तथा औद्योगिक सामग्री उत्पादन गर्न सकिन्छ । यसले स्थानीय समुदायको आयआर्जन बढाउनुका साथै वनमा आधारित उद्यम विकास, रोजगारी सिर्जना, जैविक विविधता संरक्षण तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा समेत महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वासका साथ सामुदायिक वन क्षेत्रमा यसको वृक्षारोपण गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि ग्रीन फाउन्डेसन नेपालका केन्द्रीय अध्यक्ष घनश्याम पाण्डेले मौवा खेतीले स्थानीय समुदायको जीविकोपार्जन र अर्थतन्त्रलाई टेवा पुर्‍याउने मात्र नभई वन वातावरण संरक्षण र जैविक विविधता जोगाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

विश्वव्यापी जलवायु परिवर्तनको चुनौती सामना गर्न यस्ता बहुउपयोगी प्रजातिको संरक्षण र विस्तार आवश्यक रहेको उहाँको भनाइ छ । उहाँले वृक्षारोपण गरेर मात्र नहुने, त्यसको दिगो संरक्षण, व्यवस्थापन र उपभोक्तालाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

सामुदायिक वनमार्फत वनमा आधारित उद्यमशीलताको विकास गरी स्थानीय समुदायलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सकिने उहाँले उल्लेख गर्नुभयो । देउखुरी सव–डिभिजन वन कार्यालयका प्रमुख गणेश खड्काले रोपिएका बिरुवालाई संरक्षण गर्दै हुर्काएर भविष्यमा आम्दानीसँग जोड्न सकिने बताउनुभयो । उहाँले वनको पुनःउत्पादनलाई बढावा दिई नयाँ वन निर्माणका लागि स्थानीय समुदाय सक्रिय हुनुपर्ने धारणा राख्नुभयो ।

त्यसैगरी सव–डिभिजन वन कार्यालय सतबरियाका प्रमुख मोहन मिश्रा, स्थानीय सामुदायिक वन उपभोक्ता महासङ्घ दाङका अध्यक्ष हरि भुसाल तथा ग्रीन फाउन्डेसन नेपाल दाङका उद्यम विकास अधिकृत सुरेशकुमार रावतले सामुदायिक वनलाई संरक्षणसँगै उत्पादन र आयआर्जनसँग जोड्नुपर्नेमा जोड दिँदै मौवा खेतीले स्थानीय समुदायको आर्थिक सशक्तीकरण, वातावरण संरक्षण र वनमा आधारित उद्यम विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

अमेलिया सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मन्जित खड्काको अध्यक्षता तथा ग्रीन फाउन्डेसन नेपालका केन्द्रीय अध्यक्ष घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय उपभोक्ता, नेपाल प्रहरी, वन अधिकारकर्मी लगायतको सहभागिता रहेको थियो ।

स्थानीय सामुदायिक वन उपभोक्ता महासङ्घ लमहीका अध्यक्ष पूर्णबहादुर बस्नेतको स्वागत मन्तव्यवाट सुरू भएको कार्यक्रमको सहजीकरण ग्रीन फाउन्डेसन नेपाल दाङका कार्यक्रम संयोजक दिपक परियारले गर्नुभएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस