रोल्पा। रोल्पाको सुनछहरी गाउँपालिकामा गएराति परेको अविरल वर्षाका कारण दुई छुट्टाछुट्टै स्थानमा पहिरोले दुई वटा घर पुरिएको छ । पहिरोमा परी तीन जना बेपत्ता भएका छन् ।
सुनछहरी गाउँपालिका–२ फलबाङस्थित वीरबहादुर घर्ती मगरको घर माथिबाट खसेको पहिरोले पूर्ण रूपमा पुरिएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख डिएसपी पञ्चकुमार बाखुका अनुसार पहिरोमा परी घरधनी वीरबहादुर घर्ती मगर, उहाँकी श्रीमती शनि घर्ती मगर र छिमेकी लली घर्ती मगर बेपत्ता हुनुभएको छ ।
लली घर्ती गएराति उनीहरूको घरमा बस्न गएकी बुझीएको प्रहरीले जनाएको छ । हाल प्रहरी र स्थानीयवासीको संयुक्त सहयोगमा पहिरो पन्छाउने र बेपत्ताहरूको खोजी कार्य तीव्र पारिएको छ ।
यसैगरी, सुनछहरी गाउँपालिका–२ कै गिट्ठे निवासी लादे बुढा मगरको घर पनि पहिरोले पुरेको छ । उक्त स्थानमा उद्धारका लागि प्रहरी चौकी सिउरीबाट प्रहरी सहायक निरीक्षक लालबहादुर पाण्डेको नेतृत्वमा टोली परिचालन गरिएको छ।
लगातारको वर्षाका कारण उद्धार कार्यमा चुनौती थपिएको छ । घटनाको विस्तृत विवरण र क्षतिको पूर्ण जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।






















