दाङ प्रहरीले विभिन्न मुद्दाका १ सय ६२ जनालाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण तथा रोकथाम अभियान अन्तर्गत प्रहरी टोलीले बैशाख ९ गते देखि १३ गते सम्म चार दिनको अवधिमा १ सय ३९ पुरुष र २३ महिला गरी १ सय ६२ जनालाई पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराका अनुसार लागुऔषध सम्बन्धी मुद्दामा १५ जना, अभद्र व्यवहारमा ५ जना र चोरी सम्बन्धी मुद्दामा १ जनाविरुद्ध मुद्दा चलाइएको छ । लागुऔषध सम्बन्धी मुद्दाका २ जनालाई पुनर्स्थापना केन्द्र पठाइएको छ ।
यसैगरी प्रहरीले फरार प्रतिवादी ५ जनालाई पक्राउ गरेको छ । अदालतबाट विभिन्न समयमा फैसला भई १ बर्ष ३ महिना कैद र ३ हजार ५ सय जरिवाना तोकिएको थियो । प्रहरीले यस अवधिमा ४० ग्राम ५ सय ५० मिलिग्राम लागुऔषध ब्राउन सुगर समेत बरामद गरेको छ । अन्य १ सय ३४ जनालाई सम्झाई बुझाई गरी अभिभावको जिम्मा लगाइएको छ ।















