दाङ । दाङमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका–१७ रामपुर चोक नजिक मोटरसाइकलले ठक्कर दिँदा अज्ञात एक वृद्ध पुरुषको मृत्यु भएको हो । दुर्घटनापछि फरार भएका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रहरीका अनुसार बैशाख १६ गते राति करिब १० बजे नम्बर नखुलेको मोटरसाइकलले अन्दाजी ६०–६५ वर्षका एक पुरुषलाई ठक्कर दिएको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चौघेरा र जिल्ला प्रहरी कार्यालय दाङबाट टोली खटिएको थियो । गम्भीर घाइते अवस्थामा रहेका ती पुरुषलाई तत्काल उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको थियो ।
अस्पतालमा उपचारका क्रममा सोही राति करिब १२ बजेतिर उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान हालसम्म खुल्न नसकेको र आवश्यक प्रक्रिया अघि बढाइएको बताइएको छ ।
दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेका थिए । प्रहरीले खोजतलास तीव्र बनाएपछि बैशाख १७ गते दिउँसो करिब साढे ३ बजेतिर चालक बंगलाचुली गाउँपालिका–३ मुलाबारीका ३० वर्षीय प्रेमलाल नेपालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।















