रोल्पा । रोल्पामा भएको जिप दुर्घटनामा रुकुम पूर्वका एकै परिवारका ७ जनाको मृत्यु भएको छ । रोल्पाको थवाङ गाउँपालिका–१ जलजलामा बिहिबार भएको जिप दुर्घटनामा २० जनाको मृत्यु भएकोमा सात जना एउटै परिवारका सदस्यहरू रहेका छन् ।
रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ टाकुरा भन्ने ठाउँका एकै परिवारका ७ जनाको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बीरेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार, अहिले शवहरू संकलन गरेर थवाङतर्फ लगिँदैछ । तीमध्ये ९ जना दाङका व्यक्ति रहेको वडाध्यक्ष बस्नेतले बताउनुभयो ।
९ जना सिस्ने–५ टाकुराका र एक जना भूमे गाउँपालिका–५ का व्यक्ति रहेको उहाँले बताउनुभयो ।
मृतकहरूको नाम संकलन हुँदैछ । जिप करिब ८ सय मिटर तल झरेको थियो । बिहीबार पानी परेकाले र रात परेपछि खोज तथा उद्धार स्थगित गरिएको थियो । शुक्रबार बिहानैबाट सुरक्षाकर्मीसहितको पहलमा उद्धार गरेर अहिले थवाङतर्फ शव ल्याउन लागिएको हो ।
रुकुमपूर्वबाट थवाङ गाउँपालिका–१ जलजलातर्फ जाँदै गरेको लु १ ज ४१६७ नम्बरको बोलेरो जिप बिहीबार दिउँसो दुर्घटना भएको थियो । मृत्यु हुनेमा १२ जना महिला, ४ जना पुरुष र ४ जना बालक छन् ।
दुर्घटनामा रुकुमपूर्व सिस्ने गाउँपालिका–५ का ३२ वर्षीय समिर कामी घाइते हुनुभएको छ । उहाँलाई राति नै अस्पताल लगिएको थियो ।















