२०८३ बैशाख १९ गते शनिवार

सल्यानका तीन गाउँमा विद्युत् सेवा विस्तार


सल्यान । सल्यानमा चालु आर्थिक वर्ष २०८२/०८३ को हालसम्म चार हजारभन्दा बढी घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा विस्तार गरिएको छ । सल्यानमा विद्युतीकरणको काम जारी रहे पनि अझै करिब २७ प्रतिशत घरधुरी विद्युत् सेवाबाट वञ्चित छन् ।

नेपाल विद्युत् प्राधिकरण सल्यान वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलका अनुसार गत साउनदेखि हालसम्म चार हजारभन्दा बढी घरमा विद्युत् सेवा पुर्‍याइएको छ । हालसम्म ७३ प्रतिशत घरधुरीमा विद्युत् पुगेको र तीमध्ये ६४ प्रतिशत उपभोक्ताले मिटर जडान गरिसकेको उहाँले जानकारी दिनुभयो । बाँकी क्षेत्रमा विद्युतीकरण विस्तारको काम जारी रहेको उहाँको भनाइ छ ।

विद्युत् विस्तारकै क्रममा दार्मा गाउँपालिकाका तीन वडामा पहिलोपटक राष्ट्रिय प्रसारण लाइन पुगेको छ । तीनवटा वडाका करिब दुई सय घरधुरीमा बुधबारदेखि विद्युत् सेवा सञ्चालनमा आएको हो । सल्यान वितरण केन्द्रले तीनवटा ट्रान्सफर्मर जडान गरी आवश्यक वितरण संरचना निर्माण गरेर सेवा विस्तार गरेको जनाएको छ ।

वर्षौंदेखि सौर्य बत्तीको भरमा जीवनयापन गर्दै आएका स्थानीय राष्ट्रिय विद्युत् सेवा पाएपछि उत्साहित भएका छन् । सल्यानमा वार्षिक रूपमा करिब पौने नौ करोड रुपियाँ बराबरको विद्युत् खपत हुने गरेको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा एक करोड आठ लाख ४३ हजार ९६६ युनिट विद्युत् बिक्री भएकोमा आठ करोड ७५ लाख ३५ हजार ५३८ रुपियाँ आम्दानी भएको वितरण केन्द्रले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस