सल्यान । सल्यानका नागरिकले अब राहदानी लिन जिल्ला प्रशासन कार्यालय धाइरहनुपर्ने बाध्यताको अन्त्य भएको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला हुलाक कार्यालयबीचको नयाँ समझदारीसँगै राहदानी सिधै सेवाग्राहीको घरदैलोमा पुर्याउने सेवा सुरु भएको हो ।
जिल्ला प्रशासन कार्यालय सल्यानका प्रमुख जिल्ला अधिकारी महेन्द्रकुमार सापकोटा र जिल्ला हुलाक कार्यालय सल्यानका हुलाक अधिकृत चिन्तामणि रेग्मीबीच शुक्रबार सम्झौतापत्रमा हस्ताक्षर भएसँगै सेवाग्राहीको घरदैलोमा राहदानी पुग्ने भएको हो ।
सरकारी सेवालाई सरल र नागरिकमैत्री बनाउने सरकारको १०० बुँदे शासकीय सुधार कार्यसूचीअनुसार सल्यानमा यो सेवा सुरु गरिएको हो । राहदानी विभागबाट जिल्ला प्रशासन कार्यालयमा प्राप्त भएका राहदानी अब हुलाकमार्फत सम्बन्धित व्यक्तिको हातमा पुग्नेछन् ।
यसका लागि सेवाग्राहीले राहदानीको आवेदन दिने समयमै एउटा फाराम भर्नुपर्नेछ र हुलाक ऐनअनुसार मात्र ५५ रुपैयाँ दस्तुर बुझाउनुपर्नेछ । जिल्ला प्रशासन कार्यालयमा राहदानी आइपुगेको एक साताभित्रै हुलाकले सम्बन्धित ठेगानामा पुर्याउने व्यवस्था मिलाइएको छ ।
विशेष गरी दुर्गम ग्रामीण भेगबाट सदरमुकाम खलङ्गा पुग्न समय र पैसा खर्च गर्नुपर्ने बाध्यतामा रहेका महिला, विद्यार्थी र वैदेशिक रोजगारीमा जाने युवाहरू यस सेवाबाट प्रत्यक्ष लाभान्वित हुनेछन् । प्रमुख जिल्ला अधिकारी सापकोटाका अनुसार झन्झटिलो प्रशासनिक प्रक्रिया हटाएर नागरिकलाई घरदैलोमै सेवा दिन यो कदम चालिएको हो ।



















