२०८३ जेष्ठ ११ गते सोमवार

नदीजन्य पदार्थ अवैधरुपमा ओसारपसार गर्ने सवारी साधन नियन्त्रणमा

दाङ । दाङमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्ने ८ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङ र मातहतका प्रहरी कार्यालयहरूबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानबाट ती सवारी साधनहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार यही जेठ १ गतेदेखि जेठ ७ गतेसम्म गरिएको विशेष निगरानी र चेकिङका क्रममा अवैध रूपमा ढुङ्गा, बालुवा, गिट्टी ओसारपसार गरिरहेका १ वटा जेसिवि, २ वटा ट्रिपर र ५ वटा ट्याक्टर नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका सवारी साधनहरूबाट दुई लाख ९५ हजार रुपैयाँ जरिवाना असुल गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं डिएसपी रेशम बोहराले जानकारी दिनुभयो । उहाँका अनुसार जरिवाना असुल गरेर सवारी साधनहरूलाई सम्बन्धित धनीको जिम्मा लगाइएको छ ।

पछिल्लो समय दाङका विभिन्न नदी तथा खोलाहरूबाट मापदण्ड विपरीत र अवैध रूपमा नदीजन्य पदार्थको दोहन बढ्दै गएपछि यसलाई रोक्न सक्रियता बढाएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस