दाङ । दाङमा एक महिनाको अवधिमा दुई हजार बढीले नागरिकता बनाएका छन् । जिल्ला प्रशासन कार्यालय दाङले जेठ महिनामा २ हजार ६४६ जनालाई नागरिकता वितरण गरेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तुलसीपुर र इलाका प्रशासन कार्यालय लमहीमार्फत उक्त संख्यामा नागरिकता वितरण गरिएको हो ।
कार्यालयले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार घोराहीबाट ८९६, तुलसीपुरबाट १ हजार ६७ र लमहीबाट ६८३ जनाले नागरिकता प्राप्त गरेका छन् ।
यसैगरी, जेठ महिनामा १ हजार २१७ जनालाई ई–पासपोर्ट वितरण गरिएको छ । जसमध्ये घोराहीबाट ४१५, तुलसीपुरबाट ५१० र लमहीबाट ३०२ जनाले ई–पासपोर्ट सेवा लिएका छन् ।
राष्ट्रिय परिचयपत्रतर्फ पनि सेवाग्राहीको आकर्षण बढ्दै गएको देखिएको छ । जेठ महिनामा ७ हजार ८९७ जनाको राष्ट्रिय परिचयपत्र दर्ता गरिएको छ । घोराहीमा ३ हजार २२०, तुलसीपुरमा ३ हजार २४२ तथा लमहीमा १ हजार ४३५ जनाको दर्ता भएको तथ्यांकमा उल्लेख छ ।
प्रशासकीय अधिकृत विजय गौतमका अनुसार सो अवधिमा १ हजार ४९९ जनालाई नागरिकताको प्रतिलिपि वितरण गरिएको छ भने ३२ जनालाई नाबालक परिचयपत्र प्रदान गरिएको छ ।
मासिक विवरणअनुसार घोराही, तुलसीपुर र लमहीस्थित प्रशासन कार्यालयमार्फत जेठ महिनामा कुल १६ हजार ६१३ सेवा प्रवाह गरिएको छ । जिल्ला प्रशासन कार्यालय दाङले नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्रलगायतका सेवामा नागरिकको पहुँच विस्तार हुँदै गएको जनाएको छ ।



















