२०८३ साउन १४ गते बिहिवार

मलखाद बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु


दाङ। दाङमा मलखाद बोकेको जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गढवा गाउँपालिका–५ चिसापानीस्थित लमही–कोइलाबास सडक–खण्डमा बुधबार साँझ बोलेरो जीप दुर्घटना हुँदा गढवा गाउँपालिका–६, गढवा बजारका २६ वर्षीय सागर कुमालको मृत्यु भएको हो ।

कोइलाबासबाट कपिलवस्तुतर्फ लिलाम गरिएको ४९ बोरा मलखाद बोकेर जाँदै गरेको लु २ च ९१३९ नम्बरको बोलेरो अनियन्त्रित भई सडकको दायाँतर्फ पल्टिएको थियो ।

उक्त बोलेरो कपिलवस्तुको शिवराज नगरपालिका–६, पैकिबण्डाका २५ वर्षीय अकवान अहमद मियाले चलाएका थिए । दुर्घटनामा परेर सामान्य घाइते भएका तीन जनाको लमही अस्पतालमा उपचार पश्चात् डिस्चार्ज गरिएको छ ।

टाउकोमा गम्भीर चोट लागेका सागर कुमाललाई लमहीमा प्रारम्भिक उपचारपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही ल्याइएको थियो । घोराहीमा पनि उपचार हुन नसकेपछि थप उपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होम लगिएकोमा उपचारकै क्रममा बुधबार राति सवा ११ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस