रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकामा आज दिउँसो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।
गंगादेव गाउँपालिका वडा नम्बर १ भुर्तिबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको लु १ ज १७४३ नम्बरको जिप आज दिउँसो १२ बजेतिर त्रिवेणी गाउँपालिका वडा नम्बर ५ हान्जाबाङमा अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खोल्सामा खसेको हो ।
जिप दुर्घटना हुँदा सहचालकसहित ९ जना घाइते भएका छन् । दुर्घटनामा परि घाइते हुनेहरूमा रोल्पा गंगादेव–१ गोठिखोलाका ४१ वर्षीय धर्मराज डाँगी, ७७ वर्षीया सपुरी डाँगी, २३ वर्षीय पलबहादुर घर्तीमगर, त्रिवेणी–७ दर्बैकी २८ वर्षीया मनिका डाँगी र उहाँका ४ वर्षीय छोरा प्रदीप डाँगी रहेका छन् ।
यसैगरी माडी गाउँपालिका–१ का २५ वर्षीय पृथ्बी पुनमगर, गंगादेव–१ का २८ वर्षीय गाडी धनि हरि वली र भारतको मोतिहारी घर भई कवाडी खरिद गर्ने २५ वर्षीय सन्तोष सहनी घाइते भएका छन् ।
घाइतेमध्ये गंगादेव–१ का २४ वर्षीय सहचालक चित्रराम वलीको भित्री चोट लागेकाले अवस्था गम्भीर रहेको छ भने माडीका पृथ्बी पुनमगरको अवस्था मध्यम र अन्य घाइतेहरूको अवस्था सामान्य रहेको छ ।
घाइतेहरूलाई घटनास्थलमा सामान्य उपचारपछि थप उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, दाङ पठाइएको छ । सवारी चालक २२ वर्षीय दिलकुमार वली भने सकुशल रहेका र उहाँलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ ।
फाइल तस्बिर :




















