२०८३ साउन २७ गते बुधवार

युवालाई उद्यमशीलता र नेतृत्वमा जोड्नुपर्नेमा सरोकारवालाको जोड

दाङ । पछिल्लो समय युवाहरूमा बढ्दो वैदेशिक पलायन र निराशालाई चिर्दै स्वदेशमै उद्यमशीलता, हरित रोजगारी र नेतृत्वमा युवालाई जोड्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

‘भिन्न परिवेश, साझा आकांक्षा’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा तुलसीपुरको ड्रिम्स ब्यांक्वेटमा आयोजित अन्तरसंवाद कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन् ।

युवा परिषद् तुलसीपुरका कार्यकारी उपाध्यक्ष प्रकाश रावतको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम दुई चरणमा सञ्चालन गरिएको थियो।

पहिलो चरणको संवाद :
कार्यक्रमको पहिलो चरणको संवाद सत्रमा बोल्दै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक माधव वलीले युवाहरूलाई विश्वास गरेर जिम्मेवारी सुम्पिनुपर्ने बताउनुभयो ।

अहिलेका युवाहरू राजनीतिक र सामाजिक परिवेशमा निकै चासो राख्ने भएकाले उनीहरूलाई नेतृत्व गर्न दिनुपर्ने तर त्यसका लागि युवाहरू आफैँ पनि चेतना, सांस्कृतिक र सामाजिक हिसाबले परिपक्व बन्नुपर्ने उहाँको भनाइ छ ।

उहाँले केही व्यक्तिहरूले समाजमा निराशाको खेती गरेर आफ्ना राजनीतिक तथा व्यक्तिगत स्वार्थ पूरा गरिरहेको आरोप लगाउँदै आफ्नै देशमा थुप्रै अवसर र सम्भावनाहरू रहेकाले नेपालमै बसेर पनि धेरै काम गर्न सकिन्छ भन्ने सकारात्मक मानसिकता र वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो ।

सोही सत्रमा बोल्दै योजना आयोग लुम्बिनी प्रदेशका पूर्व उपाध्यक्ष डा. नहकुल के.सी.ले युवाका समस्या समाधान र समग्र विकासका लागि सरकारले नीतिगत रूपमा नै स्पष्ट र दूरदर्शी काम गर्नुपर्ने बताउनुभयो ।

युवा लक्षित नीति तथा कार्यक्रमहरू कागजमा मात्र सीमित नभई व्यवहारमा लागू गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय तीनवटै तहका सरकारहरूबीच बलियो समन्वय, सहकार्य र एकीकृत योजना हुनुपर्नेमा उहाँको विशेष जोड छ ।

यसैगरी महिला मानव अधिकार रक्षक सञ्जाल दाङका संस्थापक अध्यक्ष तथा पत्रकार लक्ष्मी आचार्यले आजका युवाहरू प्रविधिको तीव्र विकाससँगै देश–विदेशका हरेक गतिविधि र सामाजिक–राजनीतिक विषयमा धेरै सचेत र जानकार रहेको बताउनुभयो ।

नेपालमा हरेक वर्ष करिब ५ लाख नयाँ युवाहरू श्रम बजारमा प्रवेश गर्ने गरेको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले ती युवाहरूको योग्यता, क्षमता र दक्षताका आधारमा स्वदेशमै मर्यादित रोजगारीको ग्यारेन्टी गर्नु राज्यको प्राथमिक दायित्व भएको उल्लेख गर्नुभयो ।

जिल्ला युवा परिषद् दाङका पूर्व अध्यक्ष सुरेश कुमार रावतले युवाहरूलाई केवल एउटै नजरले नहेरी उनीहरूको दक्षताका आधारमा वर्गीकरण गरिनुपर्ने बताउनुभयो ।

समाजमा रहेका दक्ष, अदक्ष र अर्धदक्ष युवाहरूलाई पहिचान गरी सोही अनुसारका छुट्टाछुट्टै व्यावसायिक, सीपमूलक र स्वरोजगारमूलक कार्यक्रमहरू ल्याउन सके मात्र युवा आत्मनिर्भर बन्न सक्ने उहाँको भनाइ थियो ।

पहिलो सत्रको सहजीकरण पत्रकार गोपाल शर्मा भट्टराईले गर्नुभएको थियो ।

दोस्रो चरणको संवाद :
कार्यक्रमको दोस्रो चरणको संवाद सत्रमा बोल्दै प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य भारती पाठकले युवाहरू वैदेशिक रोजगारीको तीव्र आकर्षणमा परिरहेको वर्तमान अवस्थामा उनीहरूलाई स्वदेशमै रोक्न उद्यमशीलता र हरित रोजगारीका लागि सरकारले १२ करोड रुपैयाँभन्दा बढी बजेट छुट्याएर काम गरिरहेको जानकारी दिनुभयो ।

बाल अधिकार र युवा महिलाका क्षेत्रमा विगत १० वर्ष काम गर्दाका आफ्ना अनुभव र चुनौतीहरू स्मरण गर्दै उहाँले विशेष गरी युवा महिलाका सवालमा अझै सशक्त भएर काम गर्न खोज्दा समाज र संरचनाबाट अपेक्षाकृत समर्थन नपाउने जस्ता समस्या रहेको बताउनुभयो ।

अबका दिनमा नीति निर्माण र हरेक तहको निर्णय प्रक्रियामा युवा तथा महिलाहरूको पहुँच, सहभागिता र अधिकारलाई पूर्ण रूपमा सुदृढ बनाउनुपर्ने उहाँले स्पष्ट पार्नुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका पूर्व मेयर घनश्याम पाण्डेले समाजमा मुख्यतया दुई किसिमका युवाहरू हुने बताउनुभयो । उहाँका अनुसार एक किसिमका युवाहरू पढेर अरूकोमा जागिर खाने सोचका हुन्छन् भने अर्का किसिमका युवाहरू आफैँ उद्यमी बनेर अरूलाई जागिर दिने सोच बोकेका हुन्छन् ।

यी दुवै कुराको सही ज्ञान, व्यावहारिक तालमेल र सन्तुलन भएमा मात्र जीवनमा सफलता हासिल गर्न सकिने बताउँदै जीवनमा अवसरहरूको कमी नरहेकाले धेरै बाँच्न, स्वरोजगार बन्न र सफल हुनका लागि उद्यमशीलतालाई नै जीवनको मूल मन्त्र बनाउनुपर्ने उहाँको भनाइ थियो ।

यसैगरी अनिता पोख्रेलले पछिल्लो समय युवा पुस्तामा लागूऔषध दुर्व्यसन, बालविवाह र आत्महत्याजस्ता गम्भीर सामाजिक समस्याहरू भयावह रूपमा बढ्दै गएकोमा गम्भीर चिन्ता व्यक्त गर्नुभयो ।

यस्ता विकृति र घटनाहरू न्यूनीकरण गर्नका लागि विद्यालय, परिवार, समुदाय र स्थानीय सरकार मिलेर तत्काल ठोस, सचेतनामूलक र प्रभावकारी कदम चाल्नुपर्ने उहाँले बताउनुभयो ।

सामुदायिक वन उपभोक्ता महासङ्घ लुम्बिनी प्रदेशका महासचिव शोभाकर सापकोटाले युवाहरूलाई सामुदायिक वनको संरक्षण र व्यवस्थापनसँग जोडेर लैजानुपर्ने बताउनुभयो । वन र वातावरणको क्षेत्रमा अनुसन्धान र सम्भावनाका धेरै नयाँ बाटाहरू रहेकाले युवाहरूलाई वन उद्यमशीलतामा जोडेर दिगो रूपमा स्वरोजगार बनाउन सकिने उहाँले उल्लेख गर्नुभयो ।

डिभिजन वन कार्यालय दाङका प्रमुख बेशिन्द्रराज सुवेदीले डिभिजन वन कार्यालयले युवाहरूलाई वन तथा वातावरण संरक्षणसँग जोड्दै विभिन्न उद्यमशीलताका कार्यक्रमहरू सञ्चालन गरिरहेको जानकारी दिनुभयो। वनमा रहेका जडीबुटी, काठ, पात र दारको उचित प्रशोधन र बजारीकरण गरी आम्दानी तथा रोजगारी सिर्जना गर्दै दिगो वन व्यवस्थापनका लागि काम भइरहेको उहाँले बताउनुभयो । दोस्रो सत्रको सहजीकरण अकोराबका लेखा समिति संयोजक संगीत बस्यालले गर्नुभएको थियो ।

दुवै चरणका संवाद खुला छलफलमा सहभागी युवा तथा विद्यार्थीहरूले आफ्ना गहन प्रश्न र जिज्ञासाहरू वक्ताहरूसामु राखेका थिए। सहभागीहरूले पछिल्लो समयका युवाहरूले भोगिरहेको मानसिक तनाव, निराशा र आत्महत्याका घटनाहरूलाई राज्य र सरोकारवालाहरूले कसरी हेरिरहेका छन् र हालसम्म कति युवालाई व्यावहारिक रूपमा उद्यमी बनाउन सफलता मिल्यो भन्दै प्रश्न गरेका थिए।

यस्तै, युवाहरूलाई स्वदेशमै बस्ने वातावरण नबनाई केवल ’विदेश नजाऊ’ मात्र भनेर कसरी रोक्न सकिन्छ भन्ने विषयमा सहभागीहरूले चासो व्यक्त गरेका थिए।

त्यसैगरी युवा समुदायभित्र ठूलो विविधता रहेकाले दलित, अपाङ्गता भएका व्यक्ति, सीमान्तकृत र जनजाति युवाहरूका वास्तविक मुद्दा र आवाजहरू राज्यका नीति तथा कार्यक्रमहरूमा किन अझै छुटिरहेका छन् भन्दै सहभागीहरूले प्रश्न उठाएका थिए। आधुनिक प्रविधिको युगमा एआईको प्रयोग तीव्र रूपमा भइरहेको अवस्थामा यसको रचनात्मक र सही सदुपयोग हुन नसक्नुका कारण तथा दिनप्रतिदिन बढ्दै गएको साइबर अपराध न्यूनीकरणमा सरोकारवालाको योजनाबारे पनि सहभागीहरूले जिज्ञासा राखेका थिए ।

युवा सञ्जाल तुलसीपुरका सदस्य कमल प्रसाद ओली (केबी) को स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रमको सञ्चालन सञ्जालका अध्यक्ष गणेश भण्डारीले गर्नुभएको थियो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस