दाङ । तुलसीपुर उपमहानगरपालिका–५, बसपार्कदेखि पश्चिम पातु खोला छेउमा किसानहरूका लागि निर्माण गरिएको हाटबजारको टहरा व्यापारीहरूको कब्जामा परेको छ ।
किसानका लागि बनाइएको संरचनामा व्यापारीहरू बसेपछि वास्तविक किसानहरू भने घाम, पानी र हावाहुरी सहेर सडकछेउ तथा ढिकढकमा बसी कृषि उपज बिक्री गर्न बाध्य भएका छन् ।
पानी पर्दा ओत लागिसमेत नपाएको र हावाहुरी चल्दा पनि टहराभित्र छिर्न नदिइएको भन्दै किसानहरूले दुःखेसो गरेका छन् । किसानहरूका अनुसार आफ्ना लागि बनेको टहरामा अरू नै बसेकाले आफूहरू छाता ओढेरै सडकमै तरकारी बेच्न बाध्य हुनुपरेको हो ।
किसानहरूको यो गुनासोपछि तुलसीपुर उपमहानगरपालिकाको अनुगमन टोली शनिबार बिहान साढे ४ बजे नै हाटबजार पुगेर स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा किसानहरू बाहिर बाटोको छेउमा बसेको र टहराभित्र व्यापारीहरू रहेको पाइएको छ ।






















