२०८३ भाद्र २७ गते शनिवार

सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु


दाङ ।सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी र त्रिवेणी गाउँपालिका–५ सल्लेका करिब १८ वर्षीया विपना बुढाथोकी रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूको जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा चार जना घाइते भएका छन् ।

घाइतेमध्ये जिप चालक त्रिवेणी गाउँपालिका–५ सिंखका २४ वर्षीय भुपाल पुनको अवस्था गम्भीर रहेको छ । उहाँको टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

अन्य घाइतेमा त्रिवेणी गाउँपालिका–५ का २९ वर्षीय पारस बोहरा र ५० वर्षीय डिल्लीबहादुर वली तथा त्रिवेणी–६ की करिब ४२ वर्षीया लालमति बुढाथोकी रहेका छन् । उनीहरूको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

घाइते चारै जनालाई लुहामस्थित त्रिवेणी हेल्थ केयरमा सामान्य उपचारपछि थप उपचारका लागि दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सल्यानको त्रिवेणी गाउँपालिका–५ सिंखमा आज शनिबार बिहान ८ बजेतिर दुर्घटना भएको हो । सिम्कबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु.प्र.०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ९० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस