२०८३ भाद्र २८ गते आइतवार

जीप दुर्घटनामा घाइते भएकाको उद्धारका लागि हेलिकप्टर माग


दाङ । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । मृत्यु हुनेमा जिप चालकसहित दुई जना रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) वेदबहादुर पौडेलका अनुसार मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–रुघाका चालक सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका–६ का अन्दाजी १५–१६ वर्षीया प्रेमकला पुन रहेका छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा घाइते नौ जनामध्ये तीनदेखि चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । अन्य घाइतेको अवस्था मध्यमदेखि सामान्य रहेको छ ।

गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत लैजान हेलिकप्टर माग गरिएको छ । घाइतेको उद्धारका लागि सानीभेरी गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममार्फत हेलिकप्टर उपलब्ध गराइदिन आग्रह गरेको छ ।

गाउँपालिकाको मागअनुसार गृह मन्त्रालयमा हेलिकप्टरका लागि पत्र पठाइसकिएको प्रमुख जिल्ला अधिकारी निशानराज गौतमले जानकारी दिनुभयो । सानीभेरीदेखि सुर्खेतसम्म हेलिकप्टरमार्फत घाइतेको उद्धार गर्नुपर्ने अवस्था रहेकाले गाउँपालिकाले उद्धार खर्च व्यहोर्ने गरी तत्काल हेलिकप्टर उपलब्ध गराउन आग्रह गरिएको उहाँले बताउनुभयो ।

कोटगाउँबाट सानीभेरी गाउँपालिकाकै सिम्लीतर्फ जाँदै गरेको लु १ च ६०२९ नम्बरको जिप देउताखोलामा दुर्घटनामा परेको हो । जिप सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस