दाङ। तुलसीपुर उपमहानगरपालिकाले नगर क्षेत्रका संस्थागत विद्यालयलाई नियमित पठनपाठनमै अतिरिक्त कक्षा सञ्चालन गरी विद्यार्थी तथा अभिभावकबाट मनपरी शुल्क नलिन निर्देशन दिएको छ ।
‘हेलो सरकार’ र शिक्षा विभागमा परेका गुनासाका आधारमा उपमहानगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण संस्थागत विद्यालयलाई पत्र पठाउँदै विद्यार्थी तथा अभिभावकका समस्या तत्काल सम्बोधन गर्न कडा निर्देशन दिएको हो ।
उपमहानगरपालिकाका अनुसार केही निजी विद्यालयले सामुदायिक विद्यालयमा पूर्णकालीन कार्यरत शिक्षकलाई आफ्नो अनुकूलतामा प्रयोग गरी नियमित कक्षा तालिका खाली गराउने र बिहान–बेलुकाको अतिरिक्त समयमा नियमित पाठ्यक्रम नै पढाएर विद्यार्थीबाट शुल्क लिने गरेको पाइएको छ ।
यस्तै, विद्यार्थीलाई स्थानान्तरण प्रमाणपत्र (टीसी) दिँदा सरकारले तोकेको भन्दा बढी शुल्क लिने तथा विद्यालयमा विद्यार्थीमाथि शारीरिक र मानसिक यातना दिने गरेको गुनासोसमेत आएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाले यस्ता कार्य तत्काल रोक्न र प्रचलित नियमअनुसार विद्यालय सञ्चालन गर्न संस्थागत विद्यालयहरूलाई निर्देशन दिएको छ ।

























