दाङ, १ जेठ । सामाजिक जागरण र नैतिक शिक्षाको अभिवृद्धि गर्दै असल तथा जिम्मेवार नागरिक उत्पादन गर्ने उद्देश्यसहित ‘सुनौलो भविष्य’ कार्यक्रम तुलसीपुर उपमहानगरपालिकाका विभिन्न टोलटोलमा संचालन गरिएको छ ।
दाङ भ्याली मावि तुलसीपुरको सहकार्यमा रेडियो हाम्रो पहुँचले सञ्चालन गर्दै आएको कार्यक्रममा अभिभावक, बालबालिका र किशोर–किशोरीहरूलाई नैतिक शिक्षा, सामाजिक व्यवहार, आत्मअनुशासन, आपसी सद्भाव र देशभक्तिपूर्ण चेतना अभिवृद्धि भइरहेको छ ।
कार्यक्रम बिहिबार तुलसीपुर–१० को संयुक्त टोल नयाँ वस्तीमा गरिएकोे छ । कार्यक्रमअन्तर्गत सहभागीहरूलाई प्रविधिको सहि प्रयोग, बालबालिकालाई अभिभावकले दिने समय, समूहगत छलफल, रचनात्मक क्रियाकलाप लगायतका बारेमा सचेत बनाउने गरिएको दाङ भ्याली मावि तुलसीपुरका अध्यक्ष तिलक साहुले बताउनुभयो ।
उहाँले बालबालिकामा मोबाइलको बढ्दो प्रयोगले पारेको असर, अभिभावकको जिम्मेवारी, प्रविधिको सहि सदुयोग लगायतका बारेमा सचेतना प्रदान गरिरहेको बताउनुभयो ।
‘सुनौलो भविष्य’ अभियानमा अभिभावक र समुदायका अग्रजहरूको समेत सक्रिय सहभागिता रहँदै आएको छ । टोलस्तरमा साप्ताहिक रूपमा संचालन हुने यो कार्यक्रमले असल, अनुशासित र सामाजिक रूपले उत्तरदायी पुस्ता निर्माण गर्न सहयोग पु–याउने अध्यक्ष साहुले बताउनुभयो ।















