२०८३ असार १० गते बुधवार

चुनावी प्रक्रियाबाट दाङ भ्याली माविमा ’स्कुल क्याप्टेन’ चयन

दाङ। प्रजातान्त्रिक प्रक्रियाप्रति विद्यार्थीहरूलाई अभ्यस्त बनाउने उद्देश्यले दाङभ्याली मावि तुलसीपुरले ‘स्कुल क्याप्टेन’ को चयन निर्वाचन प्रक्रियाबाट सम्पन्न गरेको छ ।

निर्वाचन प्रक्रियालाई वास्तविक अभ्यास जस्तो बनाउन विद्यालय प्रशासनले मतपत्र र मतपेटिकाको व्यवस्था गर्नुका साथै उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरी प्रचारप्रसारका लागि समयसमेत निर्धारण गरेको थियो । मतदान प्रक्रिया सम्पन्न गराउने जिम्मेवारीसमेत स्पष्ट रूपमा तोकिएको थियो ।

विद्यालय प्राङ्गणमै मतदान केन्द्र (बूथ) निर्माण गरी मतदानको व्यवस्था गरि निर्वाचन गरिएको हो । विद्यालयको वार्षिक कार्यतालिका अनुसार शुक्रबारको नियमित कार्यक्रमअन्तर्गत सम्पन्न उक्त निर्वाचनमा कक्षा ६ देखि ११ सम्मका विद्यार्थीहरूले उत्साहपूर्वक गोप्य मतदान गरेका हुन् ।

निर्वाचनमा जम्मा १५ जना उम्मेदवार प्रतिस्पर्धामा थिए । मतगणना पश्चात कक्षा १० मा अध्ययनरत छात्र लोकराज घर्तीले सर्वाधिक ४८ मत प्राप्त गर्दै विजयी हासिल गरेका छन् । उनका प्रतिस्पर्धी झिनो मतान्तरले पराजित भएका थिए ।

सोही अवसरमा विद्यालयमा ‘दाङभ्याली इको क्लब’ गठन गरिएको छ । क्लबको संरक्षकमा विद्यालयका प्रधानाध्यापक रहने व्यवस्था गरिएको छ भने अध्यक्षमा कक्षा १० का उत्सव साहू चयन भएका छन् ।

त्यसैगरी, उपाध्यक्षमा कक्षा १० कै सुहान भण्डारी, कोषाध्यक्षमा कक्षा ८ का रेकिसन केसी, सचिवमा कक्षा ८ कै हिमाल वली तथा सदस्यहरूमा प्रेन्का र उज्ज्वल बपाल चयन भएको विद्यालयका अध्यक्ष तिलक साहूले जानकारी दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक शिला अर्यालले निर्वाचन तथा क्लब गठन प्रक्रियाले विद्यार्थीहरूमा लोकतान्त्रिक अभ्यास, नेतृत्व क्षमता र सहकार्यको भावना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस