सल्यान । सल्यानमा गएराति मोटरसाइकल र अटो एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ , अर्का एक जना घाइते भएको सल्यान प्रहरीले जनाएको छ ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिका–१ सल्लीबजारबाट बालुवा संग्रहीतर्फ जाँदै गरेको भे १ ह ९९३० नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको भे १० प ८३८३ नम्बरको मोटरसाइकल अम्रा नजिकै ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार बन्गाड कुपिण्डे नगरपालिका–५ का २१ वर्षका नवीन रानाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक बाबुराम बस्नेतका अनुसार मोटसाइकल चालक बन्गाड कुपिण्डे नगरपालिका–५ का २१ वर्षका सविन राना गम्भिर घाइते हुनुभएको छ ।
गम्भिर घाइते भएका दुवैलाई स्थानीय मेडिकलमा सामान्य उपचारपछि नेपालगन्ज लगिएकोमा नवीनको भेरी अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते सविनको नेपालगन्जस्थित नेसनल अर्थोपेडिक अस्पतालमा उपचार भइरहेको छ ।
इलाका प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरी टोलीले अटो चालक गुर्वाकोट नगरपालिका–३ सुर्खेतका २८ वर्षका ढाकवीर कामीलाई नियन्त्रणमा लिएको उहाँले जानकारी दिनुभयो । दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।















