२०८२ फाल्गुन २९ गते शुक्रवार

अध्ययनको केन्द्र बन्दै हाम्रो पहुँच

दाङ,२९ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ झुमरेमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था पछिल्लो समय सहकारीहरूको अध्ययन तथा अवलोकनको केन्द्र बन्दै गएको छ ।

पछिल्लो समय जिल्ला बाहिरबाट विभिन्न सहकारी संस्थाहरु अध्ययन तथा अवलोकनका लागि आउने गरेको संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले बताउनुभयो । 

संस्थाले विभिन्न परियोजनाहरू संचालन गर्दै समुदायको समृद्धिका लागि योगदान पुर्याउँदै आएको छ । संस्थाले गरेका कामहरुको अध्ययन तथा अवलोकनको लागि बाहिरी जिल्लाबाट सहकारी संस्थाहरु आउँने गरेको उहाँले जानकारी दिनुभयो । 

बुटवलमा रहेको संसार बचत तथा ऋण सहकारी संस्था लिमिटेड आज हाम्रो पहुँच सहकारीको अवलोकनको लागि तुलसीपुर आएको थियो । सो अवसरमा बुटवलमा रहेको संसार बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक, सेयर सदस्यहरू र हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बिच अन्तरक्रिया कार्यक्रमका भएको छ । 

संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको अयक्षतामा अन्तरक्रिया कार्यक्रम भएको हो । अध्यक्ष भण्डारीले संस्थाले सञ्चालन गर्दै आएको विभिन्न परियोजनाहरूको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले हाम्रो सहकारी संस्था बजारमुखी नभएर गाउँ केन्द्रित सेवा पुर्याउने उद्देश्यले सञ्चालन भएको बताउनुभयो । 

संस्थाले विभिन्न विभागहरु संचालन गदै आएको छ । बचत तथा ऋण विभाग, सहकारी पेट्रोल पम्प, हाम्रो पहुँच सेकेण्डरी स्कुल, हाम्रो पहुँच डेरी उद्योग, रेडियो लगायत ६ वटा विभाग संचालन गदै आएको छ । 

सहकारीले सदस्यहरूलाई प्रत्येक महिनामा सहकारी शिक्षा तालिम, अभिमुखीकरण कार्यक्रम, ऋण लगानी, बचत संकलन, र सहकारीको काम, कर्तव्य र अधिकारका बारेमा निरन्तर जानकारी र तालिम दिदै आएको अध्यक्ष भण्डारीले बताउनुभयो । 

सो अवसरमा राष्ट्रिय सहकारी बैंक लि. लुम्बिनी प्रदेशका प्रबन्धक नारायण बेलबासेले सहकारी संस्थालाई सफल बनाउनको लागि संचालक समितिहरूले निरन्तर निगरानी गर्न अत्यावश्यक रहेको बताउनुभयो । उहाँले संचालक समिति, कर्मचारी र सदस्यहरू जिम्मेवार रुपमा लागी परेकाले हाम्रो पहुँच सहकारी संस्थाले सबैको विश्वास जित्न सफल भएको बताउनुभयो । 

त्यस्तै संसार बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रकाश भट्राइले हाम्रो पहुँच सहकारी संस्थाबाट आफूहरूले धेरै महत्त्वपूर्ण शिक्षा प्राप्त गरेको बताउनुभयो । उहाँले हाम्रो पहुँच सहकारी संस्थाले हालसम्म गरेको कामको प्रशंसा गर्नुभयो । सार्थै सहकारीलाई बलियो बताउनुको लागि आफुहरुले अझै धेरै कामहरू गर्न बाँकी रहेको उहाँको भनाई छ । 

अन्तरक्रिया कार्यक्रममा हाम्रो पहुँच सहकारी संस्थामा प्रमुख कार्यकारी अधिकृत जनक भण्डारी,  सचिव कृष्ण पोखरेल, सहसचिव चिरञ्जीबी पौडेल लगायतको सहभातिता रहेको थियो । 

हाम्रो पहुँच सहकारी संस्थाले हाल एकसय बढीलाई प्रत्यक्ष रुपमा रोजगारी प्रदान गरेको  छ भने ४ हजार भन्दा धेरै सदस्यहरु आबद्ध रहेको सूचना तथा तालिम अधिकृत रेखा शर्माले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस