तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–१० बनगाउँमा विद्युतको झुन्डिएको तारमा टच हुँदा दुईजना घाइते भएका छन् । आज शुक्रबार बिहान साढे ५ बजेतिर बनजाउँबाट तुलसीपुर बजारतर्फ आउँदै गरेको मोटरसाइकल र साइकल विद्युतको चुडिएर भुईमा लत्रीएको तारमा जाँदा करेन्ट लागेको प्रहरीले जनाएको छ ।
बनगाँउबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ प ७७७० नम्बर मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–११ बेलगनारका ४८ वर्षीय देसुराम चौधरी र साइकल यात्री तुलसीपुर उपमहानगरपालिका–१० बनगाउँका ५२ वर्षीय चक्रपाणि अधिकारी घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । करेन्ट लागेर घाइते भएका चौधरीको हात, खुट्टा र छातीमा चोट लागेको छ भने अधिकारीको दुबै खुट्टामा चोट लागेको प्रहरी निरीक्षक रानाले बताउनुभयो ।
घाइते दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछि थप उपचारका लागि नेपालगैज रेफर गरिएको प्रहरीले जनाएको छ । मोटरसाइकल र साइकल प्रहरी चौकी जसपुरको नियन्त्रणमा रहेको छ ।















