दाङ । हाम्रो पहुँच ईको क्लब वातावरणको सरसफाइ, संरक्षण र हरियाली प्रवद्र्धन गर्न सक्रिय भएको छ । क्लबले बिहिबारमात्रै विद्यालय परिसरमा सरसफाई एवं फूलहरुको गोडमेल गरेको छ ।

वातावरणको संरक्षण र सरसफाइप्रति विद्यार्थीलाई जिम्मेवारबोध बनाउन तुलसीपुर–७ झुमरेमा रहेको हाम्रो पहुँच माविले विद्यालयमा हाम्रो पहुँच ईको क्लब गठन गरेको हो ।

क्लबले नियमितरुपमा विद्यालय परिसर तथा विद्यालय बाहिर सरसफाई र हरियाली प्रवंद्र्धन सक्रिय भूमिका खेलेको क्लबका अध्यक्ष तेजश्वी कालाथोकीले बताउनुभयो । ‘क्लले विद्यालय परिसरमा सरसफाईदेखि बोटविरुवाको संरक्षण जस्ता कामहरु गरिरहेको छ ।’ उहाँले भन्नुभयो–‘बिहिबारमात्रै कक्षा ६ का विद्यार्थीलाई सहभागी गराएर सरसफाई र फूलहरुमा पानी चार्ने काम गरेका छौँ ।’

क्लबले विभिन्न समयमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई वातावरणको संरक्षण र हरियाली प्रवद्र्धनमा सहभागी गराउने गरेको छ । वातावरण संरक्षण र सरसफाईप्रति विद्यार्थीलाई जिम्मेवारबोध गराउन ईको क्लबमार्फत विद्यार्थीलाई सरसरफाई र बोटविरुवाको संरक्षणमा सहभागी गराउने गरिएको हो ।
क्लबका सचिव अंकीत पौडेलले ईको क्लबले वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभयो । ‘क्लब गठन भएपछि वातावरण संरक्षण गर्न सकिने उपाय, बोटविरुवाको संरक्षण गर्ने तरिका लगायतका कुरा विद्यार्थीले जान्न पाएका छन् ।’ उहाँले भन्नुभयो–‘वातावरण प्रदुषण गर्न हुँदैन भन्ने कुरा विद्यार्थीले सिक्न पाएका छन् ।’ ईको क्लबमा जोडिएपछि वातावरणको सरसफाई, बोटविरुवाको संरक्षण लगायतका धेरै कुरा जान्ने मौका पाएको क्लबका सदस्य झरणा वलीले बताउनुभयो ।

विद्यालयका सहायक प्रधानाध्यापक शिव पुनले विद्यालयमा क्लब गठन भएपछि विद्यार्थीहरु विभिन्न समयमा वातावरणको सरसफाई र संरक्षणमा सक्रिय भएको बताउनुभयो । ‘हामीले विद्यार्थीलाई व्यवहारिक ज्ञान सिकाउनका लागि विद्यालय बाहिर पनि लिएर जान्छौँ ।’ उहाँले भन्नुभयो–‘विषेशगरी विद्यार्थीहरु ईको क्लबमार्फत विद्यालय परिसरमा पनि बोटविरुवा रोप्ने, फूलहरुमा सिंचाई गर्ने, सरसफाई गर्ने जस्ता क्रियाकलापमा सक्रिय रुपमा सहभागी हुने गरेका छन् ।’
















