दाङ । तुलसीपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । तुलसीपुर उमहानगरपालिका–११ कटाहाका १३ वर्षका निरज चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज शनिबार दिउँसो पौने २ बजेतिर दंगिशरण गाँउपालिका–३ को पदमपुर र दंगिशरण–१ को सिमानामा पर्ने बबई नदिमा माछा मार्ने क्रममा चौधरीलाई करेन्ट लागेर मृत्यु भएकोे ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक बिनोदराज खत्रीले जानकारी दिनुभयो । करेन्ट लागेर गम्भिर घाइते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको खत्रीले बताउनुभयो ।
कटाहाका बालक मामाको घरमा गएको बेला बबई नदिमा माछा मार्न गएको बुझिएको छ । बालकसंगै माछा मार्न गएका दंगिशरण गाँउपालिका–३ चखौराका ३५ वर्षका सरोज चौधरी, सोही ठाँउका २९ वर्षका रोहित चौधरी, ३२ वर्षका प्रदिप चौधरी र ३० वर्षका जीवन चौधरी गएको प्रहरीले जनाएको छ ।
तीन जनालाई पक्राउ गरिएको र एक जनाको खोजी भइरहेको प्रहरी निरिक्षक खत्रीले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














