२०८३ बैशाख ६ गते आइतवार

हाम्रो पहुँच सेकेन्डरी स्कुलमा कक्षा ५ को अभिभावक भेला


दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–७ झुमरेमा रहेको हाम्रो पहुँच सेकेन्डरी स्कुलले कक्षा ५ का विद्यार्थीका अभिभावकहरूको भेला कार्यक्रम गरेको छ । आज शुक्रबार एक कार्यक्रमको आयोजना गरी अभिभावक भेला कार्यक्रम गरेको हो ।

कार्यक्रममा विद्यार्थीको शैक्षिक अवस्था, अनुशासन, विद्यार्थी, अभिभावक र शिक्षकको समन्वय तथा आगामी परीक्षाको तयारीबारे विस्तृत छलफल गरिएको थियो । भेलामा सहभागी अभिभावकहरुले बालबालिकामा मोबाइलको अत्यधिक प्रयोगले पढाइमा असर परेको गुनासो गरेका थिए । पाठ्यवस्तुलाई विश्लेषण गरेर बुझ्ने अभ्यास गराउनुपर्ने र गुणस्तरीय शिक्षामा अझ जोड दिनुपर्ने सुझाव दिएका हुन् ।

भेलामा हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका सचिव जिबराज अधिकारीले अभिभावकहरूले आफ्ना छोराछोरीको अध्ययनप्रति नियमित निगरानी राख्नुपर्नेमा जोड दिनुभयो । उहाँले सानैदेखि राम्रो शिक्षा र संस्कार दिन सके मात्र बालबालिकाको भविष्य उज्ज्वल बन्ने बताउनुभयो ।

प्रधानाध्यापक शिव पुनले विद्यालयले कक्षाअनुसार अभिभावक भेला गर्दै आएको जानकारी दिनुभयो । उहाँले कक्षा ५ र ८ को परीक्षा स्थानीय सरकारले सञ्चालन गर्ने भएकाले विद्यार्थीलाई अझ मेहनतका साथ घरबाट तयारी गराउनुपर्ने र विद्यालयमा पनि सोहीअनुसार शिक्षण भइरहेको बताउनुभयो ।

उहाँले बालबालिकालाई प्रेरित (मोटिभेसन) गरेर पढाउनुपर्नेमा जोड दिँदै पछिल्लो समय मोबाइल र टिभीको लतका कारण अटेरीपन बढ्दै गएको बताउनुभयो । यसतर्फ अभिभावकले विशेष निगरानी बढाउनुपर्ने र बालबालिकाको पढाइ सुधार गर्न अभिभावक र शिक्षकबीच निरन्तर सम्पर्क आवश्यक रहेको बताउनुभयो ।

शिक्षक, अभिभावक र विद्यार्थीबीच समन्वय भएमा संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने उहाँको भनाई छ । प्रधानाध्यापक पुनले अभिभावकहरूको सल्लाह सुझावलाई ध्यानमा राखेर शिक्षकहरूले अध्ययन गराइरहेको जानकारी दिँदै राम्रो नतिजाका लागि तीनै पक्षको साझा प्रयास आवश्यक रहेको बताउनुभयो । उहाँले अभिभावकहरूलाई कम्तीमा महिनामा एकपटक विद्यालयमा आई आफ्ना बालबालिकाको प्रगति बुझ्न आग्रह गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक पुनको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा कक्षा ५ का विषयगत शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण शिक्षक मानबहादुर चौधरीले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस