२०८३ बैशाख १९ गते शनिवार

पश्चिम दाङमा आज चार घण्टा विद्युत सेवा अवरुद्ध हुने

दाङ । पश्चिम दाङमा आज चार घण्टा विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार तुलसीपुर उपमहानगरपालिकासहित पश्चिम दाङका चार पालिकामा चार घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।

आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरण तुलसीपुर वितरण केन्द्रले जनाएको छ । तुलसीपुर वितरण केन्द्रको कार्यक्षेत्रअन्तर्गत पर्ने अस्वारा र तुलसीपुर सबस्टेसन अन्तर्गतको ३३ केभी लाइन (हापुरे–अस्वारा–तुलसीपुर)मा मर्मत तथा सुधार सम्बन्धी काम गर्नुपर्ने भएकाले उक्त अवधिमा विद्युत् सेवा अवरुद्ध गर्न लागिएको वितरण केन्द्रका प्रमुख सुरेश कुमार महतोले जानकारी दिनुभयो ।

उक्त अवधिमा तुलसीपुर उपमहानगरपालिकाका सम्पूर्ण क्षेत्र तथा दंगीशरण, बबई र शान्तिनगर गाउँपालिकाका केही स्थानमा विद्युत् सेवा प्रभावित हुने कार्यालय प्रमुख महतोले जानकारी दिनुभयो । काम निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा सो समयअघि नै विद्युत् आपूर्ति पुनः सञ्चालन गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस