२०८२ चैत्र १९ गते बिहिवार

लुम्बिनीमा विद्युतीय बस सेवा सञ्चालनमा


दाङ । लुम्बिनीमा लामो समयदेखि अलपत्र परेको विद्युतीय बस आज बुधबारदेखि सञ्चालनमा आएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पत्रपछि बस सञ्चालनमा ल्याइएको हो ।

लुम्बिनी विकास कोषका प्रशासनिक अधिकृत चुडामणि भट्टराईले हाल दुईवटा रुटमा बस सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार एउटा बस बिहान बेलहियासम्म गएर फर्किएको छ भने अर्को बस तिलौराकोट र कुदानतर्फ सञ्चालन भइरहेको छ ।

हालका लागि लुम्बिनी–विमानस्थल–बेलहिया र लुम्बिनी–तिलौराकोट–कुदान गरी दुईवटा रुट तय गरिएको कोषले जनाएको छ ।

यसअघि लुम्बिनीमा रहेको चार्जिङ स्टेसन बिग्रिएका कारण विद्युतीय बस सञ्चालन हुन सकेका थिएनन् । सरकारी निर्देशनपछि मंगलबार राति चार्जिङ स्टेसन मर्मत गरेर बस सञ्चालनमा ल्याइएको हो ।

बस सञ्चालन सुरु भए पनि तत्कालका लागि यात्रुबाट भाडा नलिइने बताइएको छ । यद्यपि, यात्रुले स्वेच्छाले दान बाकसमा रकम भने राख्न सक्नेछन् ।

अधिकृत भट्टराईले सबै बस पूर्ण रूपमा सञ्चालनमा ल्याउने योजना रहेको बताउँदै आगामी दिनमा रामग्राम, देवदहलगायतका क्षेत्रमा पनि विद्युतीय बस सेवा विस्तार गरिने बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस