
दाङ, ३ चैत । दाङमा होलीको दिन झन्डै दुई सय जना मोटरसाइकल चालक कारबाहीमा परेका छन् । ट्राफिक नियम उल्लंघन गरी सवारी चलाउने सवारी चालकलाई कारबाही गरेको जिल्ला ट्राकफिक प्रहरी कार्यालय दाङले जनाएको हो ।
सबैभन्दा बढी तुलसीपुर क्षेत्रमा ८२ जना, घोराही क्षेत्रमा ७९ जना, वडा प्रहरी कार्यालय लमही क्षेत्रबाट २२ जना र इलाका प्रहरी कार्यालय भालुवाङ क्षेत्रबाट १५ जना सवारी नियम उल्लंघन गरी मोटरसाइकल चलाउनेहरू कारबाही परेका छन् ।
इलाका प्रहरी कार्यालय तुलसीपुरले ८२ जना, जिल्ला प्रहरी कार्यालय दाङले ३२ जना, जिल्ला ट्राफिक कार्याययले २२ जना, वडा प्रहरी कार्यालय घोराहीले २५ जना, लमही क्षेत्रबाट २२ जना र भालुबाङ क्षेत्रबाट १९ जना गरी कुल एक सय ९८ जना मोटरसाइकल चालक कारबाहीमा परेका हुन् ।
१९ जना चालकलाई प्रहरी नियन्त्रणमा लिइएको थियो । तीमध्ये १५ जना पुरूष र चार महिला रहेका थिए । मापसे गरेका तथा होहल्ला गरी समाजको शान्ति भंग गर्न प्रयास गर्नेहरूलाई नियन्त्रणमा लिई बेलुकी मात्रै छोडिएको थियो ।
जिल्ला प्रहरी कार्यालय दाङले होली लक्षित सुरक्षा योजना बनाइन प्रहरी निरीक्षक रामकुमार केसीको कमाण्डमा प्रहरी परिचालन गरेको थियो । बजारका चोक, राजमार्गहरूमा दुर्घटना हुन नपाओस् भनेर विशेष गरी दुई पाङ्ग्रे सवारी चेकजाँच गरेको थियो । मापसे गरी मोटरसाइकल चलाउने, हेलमेट नलगाई मोटरसाइकल चलाउनेहरूदेखि एउटै मोटरसाइकलमा तीनदेखि चार जनासम्म यात्रा गर्नेहरूलाई होल्डमा राखिएको प्रहरी निरीक्षक केसीले बताउनुभयो ।