
दाङ। सरकारले सुत्केरी हुन स्वास्थ्य संस्थामा जानुपर्ने नीति अघि सारेपनि प्रभावकारी कार्यान्वयन देखिएको छ । दाङमा पछिल्लो समय स्वास्थ्य संस्थामा गएर प्रसूति सेवा नलिएर घरमै सुत्केरी हुने दर बढेको देखिएको हो ।
आमा र बच्चाको स्वास्थ्यलाई ख्याल गर्दै सरकारले वर्षौंदेखि ‘आमा सुरक्षा’ कार्यक्रम सञ्चालन गरिरहेको छ । अस्पतालमा बच्चा जन्माउन प्रोत्साहनस्वरूप दुई हजार रुपैयाँ सुत्केरीले यातायात खर्च पाउने गरेका छन् । तर अझै पनि केहि आमा घरमै बच्चालाई जन्म दिने गरेका छन् ।
आर्थिक वर्ष २०७९/०८० मा दाङमा ३० जना घरमै सुत्केरी भएकोमा आर्थिक वर्ष २०८०/०८१ मा बढेर ६३ जना पुगेका थिए भने यस वर्षको फागुनसम्म १५ जना आमा घरमै सुत्केरी भएको सरकारी रेकर्ड छ ।
यस्तै दाङ जिल्लामा २० वर्ष मुनिका आमा बनेका पनि धेरै छन् । स्वास्थ्य संस्थाको रिपोर्ट अनुसार जिल्लाभर फागुन मसान्तसम्म छ हजार एक सय ७३ जना सुत्केरी भएकोमा नौ सय छजना २० वर्षमुनिका छन् ।
स्वास्थ्य कार्यालय दाङका अनुसार विगत तीन वर्षको अन्तरमा घरमै सुत्केरी हुनेको संख्या बढ्दो क्रममा देखिएको हो । दंगीशरण र गढवा गाउँपालिकाबाहेक सबै स्थानीय तहमा घरमा सुत्केरी भएको सरकारी रेकर्ड छ ।
दाङमा ४९ वटा स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर सञ्चालन गरिएको छ । निजी अस्पतालमा पनि सुत्केरी गराउने व्यवस्था छ तर घरमै सुत्केरी गराउने बढ्दै जानु जनस्वास्थ्यको चुनौतीको रुपमा रहेको देखाएको स्वास्थ्य कार्यालय दाङका प्रमु्ख किशोरकुमार आचार्य बताउनुहुन्छ ।
उहाँले मातृ तथा शिशु मृत्युदर घटेको देखिए पनि घरमै सुत्केरी गराउनेको संख्या बढेको तथ्यांकमा देखिएको बताउनुभयो । समय–समयमा गर्भ जाँच साथै स्वास्थ्य संस्थामै सुत्केरी गराउन जरुरी रहेको स्वास्थ्य कार्यालय दाङकी पब्लिक हेल्थ नर्सिङ निरीक्षक रिता न्यौपानेले बताउनुभयो ।
परम्परागत विधि प्रयोग गरेर सुत्केरी गराउँदा आमा र शिशु दुबैको ज्यानमा खतरा हुने भएकोले स्वास्थ्य संस्थामा जानुपर्ने उहाँले बताउनुभयो ।