
रोल्पा, उत्तरी रोल्पाको उवा क्षेत्रका वनपाखा गुराँस फुलेर ढकमक्क भएका छन् । यस क्षेत्रमा विभिन्न प्रजातिका रङ्गीचङ्गी गुराँस फुलेपछि आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल पनि बढेको छ ।
समुन्द्र सतहदेखि तीन हजार ५ सय २० मिटरको उचाईमा पर्ने उवा क्षेत्रका वनपाखामा विभिन्न प्रजातिका गुराँस फुल्ने गर्छ । थबाङ गाउँपालिकाको पर्ने उवाको बाङखर्क, डाँडाखर्क र रिकुनबाङ क्षेत्रमा चैत, वैशाखमा ढकमक्क फुल्ने गुराँस यस क्षेत्रको प्रमुख पहिचान हो । यस क्षेत्रमा फुल्ने दर्जनौं थरिका गुराँसले आन्तरिक तथा बाह्य पर्यटक आकर्षण गरेको छ । पछिल्लो समय उवा क्षेत्रमा गुराँस हेर्न रोल्पा, रुकुम, प्युठान ,दाङ, बाग्लुङ, मोरङ तथा भारतबाट समेत पर्यटकहरु आउन थालेका छन् ।
उवा क्षेत्रलाई गुराँस पर्यटकीय हवको रुपमा विकास गर्नका लागि प्रचारप्रसारदेखि पयटकीय संरचनाको निर्माण गर्न सुरु गरेको थबाङ गाउँपालिका–४ का वडा अध्यक्ष हिकमत घर्तीमगरले बताउनुभयो ।

रोल्पाका स्थानीय तहले पनि पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न लागि परेका छन् । रोल्पाको ४५ प्रतिशत भू–भागमा गुराँस पाइन्छ ।
