२०८२ माघ २५ गते आइतवार

दाङको तुलसीपुरसहित नेपालका २४ स्थान भासिने खतरामा

दाङ, ४ जेठ । दाङको तुलसीपुरसहित नेपालका २४ स्थान भासिने खतरामा छन् ।

खानी तथा भूगर्भ विभाग र भौगर्भिक अध्येताले २०५५ सालयता गरेको अध्ययन अनुसार तराई, मधेशसहित पहाडी जिल्लामा जमिन भासिने खतरा देखिएको हो ।

कास्कीको पोखरासहित विभिन्न जिल्लामा जमिन भासिएर गम्भीर दुर्घटना पनि भएका छन्‌ । केही जिल्लामा जमिन भासिने खतरालाई दृष्टिगत गरी खानी तथा भूगर्भ विभागले सचेत पनि गराउँदै आएको छ ।

वैशाख १९ गते मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६, गैरीगाउँमा सडकमा गुडिरहेको गाडी जमिन भासिएर हराएको छ । विभागका भूगर्भविद् डा. नारायण अधिकारीका अनुसार ११ मिटरसम्मको खाल्डो बनेपछि जमिन भासिएर फसेको गाडी त्यही दलदलमै छ ।

गाडी भासिएको चर्चा भइरहँदा देशका धेरै स्थान सिङ्कहोल निर्माण हुने जोखिममा रहेकोतर्फ भने धेरैको चासो पुगेको छैन । विभागकै भूविज्ञान महाशाखाका उपसचिव शिवकुमार बास्कोटाका अनुसार झापाका भद्रपुर र दमक, मोरङको विराटनगर, सुनसरीको धरान, सिन्धुली, धनुषाको जनकपुरधाम, महोत्तरीका बर्दीबास र जलेश्वर, पर्साको वीरगन्ज, मकवानपुरको हेटौँडा, काठमाडौँ र नुवाकोटमा जमिन भासिने जोखिमयुक्त भौगर्भिक संरचना छ ।

त्यसै गरी चितवनको भरतपुर, कास्कीको पोखरा, तनहुँको दमौली, रुपन्देहीका बुटवल र भैरहवा, दाङको तुलसीपुर, बाँकेको नेपालगन्ज, बर्दियाको गुलरिया, सुर्खेत, कैलालीका टीकापुर र धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा पनि जमिन भासिने खतरा छ ।

वरिष्ठ भूगर्भविद् प्राडा मेघराज धिताल र खानी तथा भूगर्भ विभागका महानिर्देशक मोनिका झाले जमिन भासिनु आफैँमा खतरापूर्ण हुने बताउनुभयो । प्राडा धितालले जमिन भासिने जोखिममा सबैभन्दा बढी पोखरा परेको र अन्य ठाउँमा पनि उत्तिकै सचेत हुनुपर्ने बताउनुभयो ।–गोरखापत्रबाट

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस