
तुलसीपुर । किशोरीहरूको स्वास्थ्य र स्वच्छता सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले तुलसीपुर नगर जेसिसले मावि दोघरेमा रजस्वला (महिनावारी) सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ ।
तुलसीपुर–९ मा रहेको मावि दोघरेका छात्राहरू लक्षित गरी तुलसीपुर नगर जेसिसको अआयोजना तथा मेट्रो प्याथ ल्याव तुलसीपुरको सहकार्यमा कार्यक्रम भएको हो ।
जेसिसका अध्यक्ष सन्दीप भुसालको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक सुनिता यादवको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा रजस्वलाको समयमा देखिने समस्या, परिवर्तन र अपनाउनुपर्ने स्वास्थ्य सावधानीका विषयमा प्रशिक्षण दिइएको छ ।
प्रमुख अतिथि यादवले किशोरीहरूमा रजस्वला सुरू हुँदाको शारीरिक र मानसिक अवस्था, त्यसबेला देखिने समस्या र आवश्यक प्राथमिक उपचारका उपायहरूबारे जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले यस्ता अभिमुखीकरण कार्यक्रमले किशोरीहरूको आत्मविश्वास बढाउने र स्वच्छता सम्बन्धी सचेतना फैलाउने विश्वास व्यक्त गर्नुभयो ।
तुलसीपुर नगर जेसिजका अध्यक्ष सन्दीप भुषालले किशोरीहरूलाई स्वास्थ्य शिक्षा प्रदान गर्नु अत्यन्त जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो–“महिनावारीको विषय अझै पनि समाजमा लाजको विषयजस्तो बनाइएको छ, तर यो प्राकृतिक प्रक्रिया हो। किशोरीहरूमा यसको बारेमा स्पष्ट जानकारी र सकारात्मक सोच विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुन्छन् ।” उहाँले अभिभावक र शिक्षकहरूलाई समेत यस विषयमा संवेदनशील बन्न आग्रह गर्नुभयो ।
कार्यक्रमका नर्स सलिना उपाध्याय र उपप्राध्यापक अनुप पोख्रेलले रजस्वला अवधिमा अपनाउनुपर्ने सावधानी, सेनेटरी प्याडको प्रयोग, व्यक्तिगत सरसफाइ, आहारमा ध्यान दिनुपर्ने पक्षहरू लगायतका विषयमा प्रशिक्षण गर्नुभएको हो ।
कार्यक्रममा सहभागी छात्राहरूलाई निशुल्क सेनेटरी प्याड समेत वितरण गरिएको छ । कार्यक्रममा रक्त समूह परीक्षण, पिसाव परीक्षण र रजस्वलासँग सम्बन्धित शारीरिक तथा मानसिक परिवर्तनहरूबारे समेत जानकारी दिइएको थियो ।

कार्यक्रम संयोजक बसन्त योगीको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सहजीकरण महासचिव बुद्धिराज सापकोटाले गर्नुभएको हो । संयोजक योगीका अनुसार तुलसीपुर नगर जेसिसले नगरका अन्य विद्यालयहरूमा समेत किशोरी शिक्षा कार्यक्रम विस्तार गर्ने योजना बनाएको छ ।